प्रहरी समायोजनसहित तीन वटा अध्यादेश जारी
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा अध्यादेश सोमबार जारी गरेकी छिन । मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) अध्यादेश २०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७७ जारी गरेकी हुन ।
संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम सरकारको सिफारिसमा सो अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेको राष्ट्रपति कार्यालय प्रवक्ता दाहालले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समय एसिड आक्रमणका घटना बढ्दै गएपछि सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी एसिड आक्रमण गर्नेमाथि थप सजायको व्यवस्था अध्यादेशमा गरेको छ । एसिड आक्रमण गर्नेलाई बढीमा २० वर्ष कैद र १० लाख रुपियाँसम्म जरिवानाको व्यवस्था अध्यादेशमा गरिएको छ ।