Loading... आजः आइतवार, अशोज १०, २०७८
Trending

महावु गाउँपालिकामा सामाजिक दुरी सहितको सार्वजनिक सुनूवाई

दैलेख  : कोरोना माहामारीको मध्यनजर गर्दै सामाजिक दुरी सहित महावु गाउँपालिकाका तीन वटा वडामा सार्वजनिक सुनूवाई सम्पन्न भएको छ । महावु गाउँपालिका वडा नं. १, २ र ३ मा गरिएको सार्वजनिक सुनुवाईमा वडाको विकास गतिविधिहरुमा पारदर्शीता कायम गर्ने साझा प्रतिबद्धता गरिएको छ । वडाले गत आर्थिक वर्ष २०७६÷०७७ मा गरेका गतिविधि र कोरोना रोकथामका बारेमा गरेका प्रयासहरुको बारेमा सार्वजनिक सुनुवाईमा बहस गरिएको छ । स्थानीय सरकारले जनताको सुरक्षाका लागि संघियताको मर्म अनुसार पूर्ण रुपमा कोरोना रोकथाममा महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी गरेका छन् ।

वडाका विकास गतिविधि र कोरोना संक्रमणबाट जोगिन पालिका र स्थानीय बासिन्दाहरुले खेलेको भूमिकाका बारेमा समिक्षा गर्दै सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । वडा नं. १ को खरिगैरामा सम्पन्न सार्वजनिक सुनुवाइमा आगामी चौमासिक अवधिदेखि वडाले गर्ने सार्वजनिक सुनुवाइमा अनिवार्य आम्दानी खर्चको जानकारी प्रिन्ट गरेर उपस्थित जनतालाई बुझाउनुपर्ने प्रतिबद्धता गरिएको छ । वडामा हुने ५ लाख भन्दा माथिका सवै विकासे योजनाहरुमा सुशासन र पारदर्शीता कायम गर्नका लागि अनिवार्य सार्वजनिक सुनुवाई गर्ने, भारत लगायत तेस्रो मुलुकबाट वडामा आएका युवाहरुलाई स्थानीय स्तरमै रोजगारी प्रदान गर्ने बारेमा वडाले बिशेष योजना ल्याउने, बिपन्न र लक्षित समुदायलाई पहिलो प्राथमिकता राखेर काम गर्ने, कृषि र पशुपालनका क्षेत्रमा ठोस नीति लागु गरेर युवाहरुलाई रोजगारी दिने लगायतका प्रतिबद्धताहरु गरिएको छ ।
वडा अध्यक्ष हरी प्रसाद उपाध्यायले पालिकाभरी सवैभन्दा धेरै १८ वटा सडक खनिएको र अन्य ८ वटा सिंचाईका कामहरुमा भारतबाट आएका युवाहरुलाई परिचालन गरेर मर्मतका कामहरु गरिने बताएका छन् । यो वर्षबाट कृषि र पसुपालनको क्षेत्रमा प्रभावकारी लगानी गरेर युवाहरुलाई गाउँमै रोक्ने अभियान थालिने उपाध्यायको भनाई छ । वडा नं. २ बडाखोलामा गरिएको सार्वजनिक सुनुवाईमा जनप्रतिनिधिहरुले एकपक्षिय रुपमा काम गरेको स्थानीय नेकपाका केही नेताहरुले आरोप लगाएका छन् । वडामा हुने विकास गतिविधिहरुका बारेमा सबैपक्षसँग समन्वय गरेर काम बढाउन जनप्रतिनिधिलाई सुझाव दिएका छन् । वडा नं. २ का वडा अध्यक्ष रामकृष्ण गुरुङले सहकार्य र सहमतीकै आधारमा कामहरु गरिएको बताएका छन् । वडा नं. २ मा आगामी एक वर्षभित्र विद्युतिकरण सम्पन्न गर्ने, विकास निर्माणका लागि गठन गरिने उपभोक्ता समितिहरुमा नातेदार र पार्टीकरण बन्द गरेर पीडित र बास्तविक उपभोक्ताहरुलाई मात्र समितिमा राख्ने लगायतका प्रतिबद्धताहरु गरिएको छ ।

वडा नं. ३ मा गरिएको सार्वजनिक सुनुवाईमा स्थानीय बासिन्दाहरुले एम्बुलेन्स सेवा प्राप्त नगरेको, कोरोनामा कति खर्च भयो भन्ने बारेमा जानकारी नपाएको स्थानीयले गुनासो गरेका छन् । विकासमा राजनीतिक पुर्वाग्राही गर्ने काम वडाले गरेको भन्दै जनताले असुन्तुष्टि व्यक्त गरेका छन् । वडा अध्यक्ष हिरासिंह बढुवालले सडक नभएकोले एम्बुलेन्स संचालन गर्न नसकिएको, विकासका कामहरुमा पूर्वाग्राही नगरेको बताएका छन् ।
वडामा खनिएका सवै सडकहरुमा अनिवार्य नालीको व्यवस्थापन गर्ने, वडामा कार्यरत कम्प्यूटर अपरेटरको तलवको बिषयमा सम्वन्धित निकायमा पहल गर्ने, अहिलेपनि कोभिड महामारि कायमै रहेकोले औषधि उपलब्धताका लागि सम्वन्धित निकायमा खवर गर्ने प्रतिबद्धता गरिएको छ । सार्वजनिक सुनुवाइमा उपस्थिती सबैलाई मास्क बितरण गरिएको थियो भने सेनिटाईजरको प्रयोग सँगै सामाजिक दुरी कायम गर्ने बारेमा पनि जानकारी गराईएको थियो ।

error: Content is protected !!