बेरोजगार बने निजी विद्यालयका शिक्षक
फाइल तस्बिर
दैलेख : कोरोना महामारीका कारण विद्यालय सञ्चालन हुन नसके पछि निजी विद्यालयमा अध्यापन गर्ने सात सय जना शिक्षक बेरोजगार बनेका छन् । सरकारले गत चैत ११ गते देखी गरेको बन्दाबन्दीका कारण विद्यालयहरू नयाँ शैक्षिक सत्रको पाँच महिना सम्म सञ्चालन हुन नसक्दा आफूहरू आर्थिक सङ्कटमा परेको शिक्षकहरूले बताएका छन् ।
पाइनिएर बोर्डिङ स्कुलमा विगत चार वर्ष देखी अध्यापन गर्दै आएका महावु गाउँपालिका वडा नः १ का कर्ण बहादुर रोकायले विद्यालय सञ्चालन हुन नसक्दा आफू आर्थिक सङ्कटमा परेको बताए । उनले विद्यालय खुल्ने आसमा पाँच महिना बिते पनि अझै पनि सरकारले विद्यालय सञ्चालन गर्न नसक्ने बताएपछि आफूहरूलाई ठुलो आर्थिक सङ्कट परेको बताए । उनले भने घरमा सात जनाको परिवार छ घरको आम्दानीको स्रोत भनेको म नै हो अरू कोई छैनन । आफ्नो जागिर बाट आएको रकमले घर खर्च चल्ने गरे पनि पाँच महिना देखी जागिर नभएपछि घरमा आथिर्क समस्या परेको छ ।
सनराईज बोर्डिङ स्कुलका शिक्षक नगेन्द्र सिंहले कोरोनाको महामारीमा सबै भन्दा बढी निजी विद्यालयमा पढाउने शिक्षकहरू भएको बताए । उनले पाँच महिना सम्म विद्यालय सञ्चालन हुन नसक्दा आफूहरूको जागिर गएको बताए । उनले भने विद्यालय सञ्चालक सँग पैसा माग्न पनि समस्या छ कसरी माग्ने विद्यालय सञ्चालन भएका छैनन् । विद्यार्थी बाट उठेको शुल्क बाटै आफूले तलब खाने हो ।
फूलबारी विद्या मन्दिरका फाउन्डर सुवास थापाले विद्यालय सञ्चालन हुन नसक्दा शिक्षकरुलाई तलब खुवाउन नसकिएको बताए । उनले विद्यार्थी बाट उठेको शुल्क बाट शिक्षकहरूलाई पारिश्रमिक दिने हो विद्यालय नै बन्द भए पनि सबै शिक्षक घरमा गएको बताए । कोरोना महामारीका कारण देखाउँदै सरकारले विद्यालय सञ्चालन गर्न नसकिने बताए पनि सामाजिक दुरी कायम गरेर अध्यापन गराउन बाटो खोल्दिनु पर्ने उनको भनाई छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दैलेखका अध्यक्ष समेत रहेका थापाले जिल्ला शिक्षा समितिको बैठक बसेर विद्यालय सञ्चालन गर्नका लागि आवश्यक मापदण्ड तयार गरेर कोभिड–१० सङ्क्रमण व्यवस्थापन समिति (सीसीएमसीं) लाई आग्रह गरिने बताए । उनले सिसिएमसिले सामाजिक दुरी कायम र सेनेटाइजर मास्कको प्रयोग गरेर विद्यालय सञ्चालन गर्ने अनुमति दिएमा त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न आफूहरू तयार रहेको बताए ।
शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका प्रमुख तेज बहादुर थापाले जिल्लामा कोरोना महामारी नियन्त्रण तर्फ उन्मुख भएका कारण पनि विद्यालय सञ्चालन गर्नका लागि प्रयास गरिने बताए । उनले जिल्लाका केही स्थानीय तहले टोल टोलमै पुगेर पढाई रहेको भए पनि प्रत्येक टोलमा प्रत्येक विषयका शिक्षक पुग्न कठिन देखिएको बताए । उनले भने अव शैक्षिक सत्र सुरु भएको पनि पाँच महिना पुग्न थाल्यो अव हामीले विद्यालय सञ्चालन गरेनौ भने पाठ्यभर अनुसार पढाई गर्न समस्या हुने भएका कारण पनि विद्यालय सञ्चालन गर्ने र सरकारले निर्धारण गरेको सामाजिक दुरी कायम र सेनेटाइजरको प्रयोग अनिवार्य गर्न जरुरी छ ।