Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

ग्रामीण भेगमा स्थापना हुदै दुग्ध डेरी उद्योग

दैलेख : स्थानीय सरकारले कृषि लक्षित रकम बाट कृषकलाई अनुदानमा भैँसी र उन्नत गाई वितरण गर्न थालेपछि त्यसका बाट उत्पादन भएको दूधको बजारीकरणका लागि ग्रामीण भेगमा डेरी उद्योग सञ्चालनमा आउन थालेका छन् । स्थानीय तहले समेत दूध सङ्कलनका लागि डेरी सञ्चालन गर्न सहकारी मार्फत थप अनुदान दिने गरेपछि जिल्लाका विभिन्न ग्रामीण भेगमा डेरी उद्योग सञ्चालनमा आएका छन् ।
शनिवार मात्र दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा २ चाल्ने चौतारामा दुग्ध डेरीको उद्घाटन गरिएको छ ।

कर्णाली प्रदेश सभाका सभामुख राज बहादुर शाही र प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले संयुक्त रूपमा उद्घाटन गरेका हुन । कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखबाट १ करोड, चामुण्डाविन्द्रासैनी नगरपालिकाबाट ३१ लाख, सृजन चामुण्डामाई बहुउद्देश्यीय सहकारीबाट ३० लाख र सुर्खेत डेरीबाट प्राप्त भएको ६ लाखसहित १ करोड ६७ लाख लागतमा निर्माण गरिएको दुग्ध डेरीको उद्घाटन गरेका छन ।

दुग्ध डेरी उद्योगको उद्घाटन गर्दै सभामुख राजबहादुर शाहीले किसानको आयआर्जन बढ्ने गतिविधि सञ्चालन गर्न स्थानीय सरकार लाग्नु पर्ने बताए । उनले किसानले उत्पादन गरेको दुग्धलाई उत्पादनको बजारीकरण गर्न सडक पूर्वाधार विकासमा ध्यान दिनु पर्ने बताए ।

मन्त्री केसीले प्रदेश सरकारले गरेको लगानीमा नागरिकलाई फाइदा हुने गरी प्रतिफल दिँदा निकै उत्साहित भएर चामुण्डा पुगेको बताईन । उनले कर्णाली प्रदेश सरकारले किसानको जीवन स्तरमा परिवर्तन ल्याउन विभिन्न क्षेत्रमा अनुदानको व्यवस्था गरेको बताउँदै आगामी दिनमा सरकारले अनुदान नदिएर ऋणमा सहुलियत दिने तयारी गरेको बताईन ।

जिल्ला पशु सेवा कार्यालय पशु सेवा अस्पतालका प्रमुख भीम बहादुर विष्टले यहाँ बाट उत्पादन भएको दूधको बजारीकरणका लागि विभिन्न डेरी सँग समन्वय गरिदिने बताए । जिल्लाका नारायण नगरपालिका,भगवतिमाई गाउँपालिकामा डेरी उद्योग स्थापना भएका छन् ।