अत्यावश्यक सेवा बाहेक सबै सेवा ठप्प
दैलेख : कर्मचारी देखी स्थानीय नागरिकहरुमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेक सबै काम ठप्प गर्न जिल्ला प्रशासन कार्यालय दैलेखले निर्देशन दिएको छ । जिल्ला कृषि विकास कार्यालयमा कार्यरत २६ जनाको पिसिआर परीक्षण गर्दा ८ जनामा कोरोना सङ्क्रमण भएपछि जिल्लाका ११ स्थानीय तह,सरकारी कार्यालय,सरकारी संस्थान,बैक तथा वित्तीय संस्थालाई अर्को पत्राचार नभए सम्मका लागि अत्यावश्यक बाहेक नियमित सेवा नगर्न नगराउन निर्देशन दिएको छ
दैलेखका जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले हाल सम्म १५ हजार ४८ नागरिक भारत लगायत तेस्रो मुलुक बाट जिल्लामा भित्रिएको र ८९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको पछिल्लो समय कर्मचारी,स्वास्थ्यकर्मी,शिक्षकमा समेत कोरोना सङ्क्रमण देखिन थाले पछि अत्यावश्यक बाहेक नियमित सेवा ठप्प गर्न निर्देशन दिएको बताए । उनले भारत बाट भित्रिएका १५०४८ जना मध्ये ९ हजार जनाले नयाँ नागरिकता लिने प्रक्षेपण गरिएको र अन्य कार्यालयमा समेत सेवा लिन आउने उत्तिकै सम्भावना रहेको र त्यसले गर्दा कोरोना सङ्क्रमण बढ्ने भएकाले अत्यावश्यक बाहेक नियमित सेवा ठप्प गर्ने निर्णय गरिएको जानकारी दिए । उनले भने अत्यावश्यक सेवा लिन आउँदा पनि अनिवार्य सेनिटाइजर,मास्क र ग्लोब्स लगाउन निर्देशन समेत दिएका छौ ।
दैलेखका ११ स्थानीय तह मध्ये ट्राभल हिष्ट्रि नभएका ७३ जना कर्मचारी,सुरक्षार्की,स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थीर प्रसाद रेग्मीले दुई जना जनप्रतिनिधि, छ जना स्वास्थ्यकर्मी,१४ जना नेपाल प्रहरी,२८ जना सशस्त्र प्रहरी, १२ जना शिक्षक,कर्मचारी ११ जना र एक जनामा सञ्चारकर्मीमा गरी ७३ जना भन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको बताए । उनले अन्य स्थानीयमा समेत कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य सजगता अपनाउन अपिल गरिएको बताए ।