पृथ्वी राजमार्गमा दुई सय भन्दा बढि स्थानमा पहिरो
भरतपुर : भारी वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएकाले नाररायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्गमा मङ्गलबार पनि यातायातका साथन सञ्चालन गर्न नसकिने भएको छ । डिभिजन सडक कार्यालय, भरतपुरका प्रमुख डिभिजन इन्जिनियर कृष्णप्रसाद अधिकारीले अहिले पनि राजमार्गमा दुई सयभन्दा बढी ठूलो साना पहिरो खसिरहेकाले राजमार्ग सफा गर्न समय लाग्ने बताए ।
पृथ्वी राजमार्गमा पाँच ठाउँमा ठूलो पहिरो खसेको पनि उनले जनाकारी दिए । धादिङ र चितवनको सीमाक्षेत्रमा रहेको पोवा खोलामा त सडक नै पहिरोले बगाएको छ भने पुलमा पनि क्षति पुगेको छ । पुलसँगै रहेको एप्रोज सडकको करिब १२ मिटर सडक बाढीले बगाउँदा पुलमा क्षति भएको हो । अहिले त्यस स्थानमा सडक अवरुद्ध भएको इन्जिनियर शिव खनालले बताए ।