Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

पुल नबनेपछि सास्ती


कालिकोट :  जिल्लाको तिलागुफा नगरपालिकास्थित टाकुल्ला खोलाले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय जुम्लाका इन्जिनियर लिलाबहादुर भण्डारीका अनुसार टाकुल्ला खोलाले राजमार्ग नै बगाएपछि दुई दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।

वर्षायाम सुरुभएसँगै वर्षेनी टाकुल्ला खोलामा पानीको बहाव बढ्ने र सुरुमा मानिसको सहयाताले गाडी तार्ने र पछि डोजरको सहायताले गाडी तारिन्थ्यो । तर यस पटक अविरल वर्षाका कारण पानीको बहाव निकै बढेर सडक नै बगाएपछि राजमार्ग नै दुई दिनदेखी ठप्प छ ।

खोलामा पुल बनाउने निर्माण व्यवसायीको चरम लापरबाहीका कारण पुल निर्माणको काम १० वर्षदेखि अलपत्र छ । जसका कारण राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् । डिभिजन सडक कार्यालयका इन्जिनियर भण्डारीका अनुसार टाकुल्ला खोलामा बन्ने १५ मिटर लम्बाइको पक्की पुलका लागि २०६८ सालमा पहिलो पटक ठेक्का भयो । नयाँ बानेश्वर काठमाडौंको तुल्सी दुर्गा जिबीले ठेक्का पायो । २०६९ भदौ २१ गते ठेक्का सम्झौता गरियो । सम्झौता मितिले २०७० साल मंसिर २१ गतेसम्म निर्माण सम्पन्न गर्नु पर्ने थियो। तर त्यस अवधिमा कामै भएन्। विभिन्न बाहाना देखाएर निर्माण व्यवसायीले काम गरेनन् । २०७० जेठ २१ गते हर्जना नलाग्ने गरी ठेक्का म्याद थप भयो ।

त्यस अवधिमा पुलको दुवै तिरका पिल्लर हालियो । तर फेरी काम रोकियो । २०७३ असार २१ गते हर्जना लाग्ने गरी पुन ठेक्काको म्याद थप भयो । फेरी पनि काम भएन् । हर्जना पनि तिरिएन् । डिभिजन सडक कार्यालयले २०७४ सालमा निर्माण कम्पनीलाई कालो सूचीमा राख्यो । निर्माण व्यवसायी गोकर्ण शाहले उच्च अदालत पाटनमा मध्यस्त नियुक्ति गरिपाउँ भनी निवेदन दिए । त्यो निवेदन उपर उच्च अदालत पाटनले २०७६६ जेठ १४ गते उक्त निवेदन खारेज हुने अन्तिम फैसला गरिदियो । उनी अहिले सर्वोच्च अदालतमा मुद्दा लडिरहेका छन् । यता उनले २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने भनि ठेक्का लिएको पुल १० वर्ष भइसक्दा पनि निर्माणको काम अलपत्र बनेको छ । कुल लागत एक करोड १७ लाख २७ हजार ४ सय ६५ रुपैयाँ ८१ पैसा रहेको उक्त पुल निर्माणको सुरुवातका बेला गरेको कामको करिब २० लाख रुपैयाँ मजदुरले पाएका छैनन् ।

पुल नबन्दा वर्षेनी यात्रुले पाएको सास्तीको त हिसाब किताब नै छैन् । यात्रु पूर्णसिंह बमले भने, ‘टाकुल्ला खोलामा मान्छे बगाउने पानी बगिरहेको छ । सडक पुरै भाँसिएको छ । डोजरले गाडी र मान्छेले मोटरसाइकल तार्दै आएका थिए । अहिले त्यो पनि बन्द भएको छ । जुम्लाबाट कालिकोट आउँदा गाडी फेरेर मान्म पुगियो ।’ डिभिजन सडक कार्यालयका इन्जिनियर भण्डारीले कानुनी बाधा नपरे नयाँ ठेक्का खुलाएर पुल निर्माणको काम सुरु गर्ने तयारी गरेको बताए । उनले यसका लागि स्थानीय सरोकारवालासँग छलफल गरी अगाडी बढ्ने बताए ।

प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले टाकुल्लामा अवरुद्ध राजमार्ग बनाउने सडक डिभिजनको डोजर समेत बिग्रिएपछि पूर्ण रुपमा राजमार्ग अवरुद्ध भएको बताए । कर्णाली राजमार्ग अन्तरगतको सुर्खेत जुम्ला सडकखण्डमा पर्ने दैलेख खण्डको घट्टेखोलादेखि खुलालु, टाकुल्ला लगायतका धेरै पुलको निर्माणको काम अलपत्र छ । जसका कारण यो राजमार्गमा वर्षायाम सुरु भएपछि सवारी साधन तथा यात्रुले हैरानी खेप्नु परेको छ । पुल नबन्दा सडक दुर्घटनाको जोखिम पनि बढेको छ ।

साभार युगआह्वान