Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

कर्णालीमा कोरोना संक्रमणमुक्त हुने बढ्दै


सुर्खेत : कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त हुनेहरूको संख्या बढ्दै गएको छ । पछिल्लो समय हरेक दिन संक्रमितहरू निको भएर अस्पतालबाट फर्किन थालेका छन् । आइतवार मात्रै सुर्खेत, कालीकोट र रूकुम–पश्चिमबाट गरी २२ जना संक्रमित डिस्चार्ज भएका थिए ।

प्रदेशमा जम्मा संक्रमितको संख्या एक हजार चार सय २८ पुग्दा उनीहरूमध्ये करिब एक हजार जना निको भएर घर फर्किएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार आइतवारसम्म प्रदेशबाट संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या नौ सय ५६ पुगेको छ । संक्रमित देखिएका ६ जनाको भने मृत्यु भइसकेको छ । अहिले प्रदेशमा चार सय ६६ जना कोरोना संक्रमित उपचारका लागि आइसोलेसनमा रहेका छन् ।

यसैबीच कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमितको तथ्याङ्क संशोधन गरेको छ । शनिवार संक्रमित संख्या एक हजार चार सय ४० पुगेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । उक्त तथ्याङ्कमा अछाम र बाजुराबाट पठाइएको स्वाबमध्ये कोरोना पुष्टि भएका १४ जनाको संख्या पनि कर्णालीमै जोडिएको थियो । आइतवार उनीहरूलाई हटाई तथ्याङ्क सच्याइएको महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेशमा सबैभन्दा बढी दैलेखमा कोरोना संक्रमित फेला परेका छन् । आइतवारसम्म दैलेखमा सात सय ६० जना संक्रमित फेला परेका छन् भने सुर्खेतमा तीन सय ४७, सल्यानका एक सय ७८, कालिकोटमा ४७, जुम्लाका ३०, जाजरकोटका १३, मुगुमा तीन जना, रूकुम–पश्चिम र हुम्लामा दुई÷दुई तथा डोल्पमा एक जनामा संक्रमण पुष्टि भएको थियो । कर्णालीमै रहेका अन्य जिल्लाका ४५ जनामा पनि संक्रमण देखिएको छ ।