Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कृषिमा युवा र उत्पादनमा नयाँ प्रविधि

कमल शर्मा

यति बेला सारा विश्व कोरोना भाइरस सङ्क्रमणका कारण शून्य अवस्थामा छ । विश्वका शक्तिशाली धनी व्यक्ति र साझा बिहान हात मुख र्जोन धौ भएका नागरिक कोरोना सङ्क्रमण हुन्छ कि भन्ने सन्त्रासमा बाँची रहेका छन् । यस्तो बेलामा पनि हुँदा खाने र हुने खाने व्यक्तिहरूको खाण्डल प्रस्ट देखिन्छ । कोरोना भाइरसका कारण रोजगारीका लागि विभिन्न मुलुकमा गएकाहरू धमाधम नेपाल फर्कन थालेपछि सामाजिक सञ्जालमा कृषिका कुरा जोडतोडले उठिरहेको छ । यति बेला गाउँमा रहेका युवामा आफ्नै देशमा केही गरौँ भन्ने भाव पलाएको छ भने विदेश बाट फर्केकाहरूले पनि नेपालमै कृषि गर्नु पर्छ भन्न आकर्षण बढेको पाइन्छ । कृषि बाट सम्पन्न हुन नसके पनि आफूलाई खाना खान राम्रो सँग पु¥याउन सकिन्छ भन्ने पक्का परेको छ
बन्दाबन्दिले निम्ताइरहेको विव बजारको मान्दिले धेरै युवा स्वदेश फर्कने निश्चित छ भने अधिकांश फर्किएका छन् । यो क्रम अझै बढ्दै जाने कुरामा दुई मत छैन । देश भित्र पनि सहरी क्षेत्रमा बस्ने पन िगाउँनै ठिक भन्नेमा पुगेको छन् । गाउँबाट बजारमा व्यवसाय गर्न आएकाहरू समेत बन्दाबन्दीको सयमा गाउँमा गएर कृषि खेती गरेको तस्बिरहरू सामाजिक सञ्जालमा हालेका छन् भने सहरमा बस्नेहरू पनि घरको छतमा विभिन्न खेती गर्न थालेका छन् ।
देशका कतिपय बाह्य देश गएर दुःख पाएका युवाहरू कृषि पेसालाई आधार बनाएर अन्य कामहरू गरिरहेका छन् । तर कृषि गरेर पुर्णरुपमा आत्मनिर्भर बन्न सकेको छैनन् । कृषकहरू असाध्यै परिश्रम गर्छन् तर त्यसको प्रतिफल भने सन्तोष जनक छैन । प्राकृतिक रूपमा आइपर्ने विपत्ति एकातिर छ भने अर्को उत्पादन भएका बस्तुहरूको बजारीकरणको समस्या हुनुले वास्तविक मूल्य पनि कृषकले पाएका छैनन् । आफ्नो उत्पादनको उचित मूल्य नपाउने किसान र असाध्यै चर्को मूल्यमा खरिद गर्ने उपभोक्ता दुवै मारमा परेका छन् । यदि किसानका उत्पादनलाई उचित मूल्य दिँदै उपभोक्तालाई पनि मारमा नपारी कृषि सामाग्री बिक्री गर्ने नीति ल्याउन सके खाद्यान्नमा हुने अनावश्यक खर्चलाई रोक्न सकिन्छ । ठाउँ ठाउँमा त्यस्ता समूह वा सहकारी नभएका होईनन तर ती दुई दिनका लागि सञ्चालन हुने र विविध कारण देखाउँदै बन्द हुने नेपालको परम्परा बनेको छ ।
कृषि परिवेशबाट आएका हरेकले आफैँलाई प्रश्न गर्न जरुरी छ कि बाउ बाजेले गरेको कृषिलाई हामीले किन व्यावसायिक र उत्पादनमूलक तरिकाबाट गर्न सकेनौँ कहिलेकाहीँ सोच्दै जाँदा राज्यको व्यवस्था पनि कमजोर भएको पक्कै देखिन्छ । यदि सरकारले आधुनिक कृषि नीतिका साथ उत्पादनमूलक कृषिलाई बढवा दिएर युवालाई कृषिमा आकर्षण गर्न सकेको भए धेरै नेपालीले बिदेसिनु पर्थेन होला । छोराछोरी बिदेसिएपछि बाउले पाखुरा बजाएको भूमि पनि बाँझै बस्ने थिएनन् । नेपालमा कृषिको विकास हुने हो भने अन्य पेसाको तुलनामा कृषिले नै राष्ट्रलाई उठाउन मद्दत गर्ने पक्का छ। राज्यले कृषिमा अनुदान दिने गरे पनि वास्तविक कृषकले अनुदान नपाउने समस्या कायमै रहेको छ । खेती लगाउने चापाचापको अवस्थामा बिउ र मलको लागि यति बेला कृषक घण्टौँ लाइनमा बसिरहेका छन् । मल, बिउ अभावका बिच सहकारी र डिलरले मूल्य बढाउँदै गरेको दादागिरी किसानले भोगिनै रहेका छन् । स्थानीय सरकारले केही सहयोग गर्न त खोजेको छ तर पाँच कट्ठा खेत भएका किसानलाई जम्मा २ किलो धानको बिउ दिने र त्यसैमाथि नक्कली बिउले किसान डुबाउने काम त बर्सेनि भईनै रहेको छ ।
भौगोलिक रूपमा सानो मुलुक भए पनि विविध प्रकारको हावापानी भएको हुनाले सम्भावनाका हिसाबले कृषिमा नेपाल धनी मुलुक मानिन्छ । उचित प्रकारको हावापानी भएको हिसाबले यहाँ कृषि व्यवसायको प्रचुर सम्भावना छ । तराईका फाँटमा धान, मकै, गहुँ उखु, केरा खेती फस्टाउन सक्छ । तराईमा मलिलो भूमि र खेतीयोग्य हावापानी भएको हुनाले प्रशस्त मुनाफा गर्ने प्रकारका अन्नबाली लगाउन सकिन्छ । सिँचाइलाई कम लागतमा खेतका गरा गरामा पु¥याउन सकिन्छ । पहाडी तथा तराई क्षेत्रमा ठुला तथा सम्भावना बोकेका नदीका कारण कृषिलाई सञ्चित गर्न र विद्युतीय माध्यमबाट खेती गर्न सकिने सम्भावना छ । त्यसै गरी हिमाली क्षेत्रमा जडीबुटीको उत्पादनले देशको आर्थिक स्तर सहजै माथि उस्कने अडकल नभएका होइनन् । मुलुकको दिगो आर्थिक विकासका साथै बलियो ग्रामीण अर्थतन्त्रलाई उपलब्धिमूलक बनाउन सकियो भने देशको गरिबी निवारणमा टेवा पु¥याउन गाह्रो छैन ।
वर्तमान सरकार समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएर विकासको दिगो लक्ष्यमा अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मन्तव्यमा दिगो विकास र समृद्ध नेपालका लागि कृषिमा आधुनिकीकरण हुनुपर्नेमा सधैँ जोड दिएका छन् । सरकारले नेपालले कृषिमा फड्को मार्न सक्ने बताइरहँदा अन्ततोगत्वा देशले कृषि उत्पादनमा नयाँ विधि प्रणालीका साथ अघि बढ्नुको विकल्प नहुन सक्छ । कृषि र किसानलाई प्रोत्साहन र सुरक्षा ग्यारेन्टीको प्रबन्ध मिलाउन सके मात्र कृषि व्यवसायले गति लिन सक्छ ।
नेपालमा कृषि क्षेत्रमा माथि उकास्न आधुनिक किसिमको प्रविधि भित्राउन र युवाको जनशक्तिलाई कृषिमा जोड्न सकेको खण्डमा हामी आर्थिक समृद्धितिर अघि बढ्छौँ । देशको अर्थतन्त्र उकालो लाग्नेमा द्विविधा छैन । कृषि पेसालाई हरेक नेपालीको आशाको केन्द्रको रूपमा लिँदै आए पनि यसले आशातीत प्रतिफल दिन नसक्नुको पछाडि धेरै कारण छन् । कृषिप्रधान देश भए पनि कृषि व्यवसायलाई उचित अवसर र मूल्याङ्कन नगरिनु यसको प्रमुख समस्या हो । अझै पनि कृषिलाई केवल कागजी नीति नियममा सीमित राख्ने परिपाटी छ । कृषि पेसालाई हालसम्म सम्मानित पेसा बनाउन सकिएको छैन । हामी नेपालीलाई विदेशीको गुलामी गर्न मन्जुर छ, तर स्वदेशमै बसी कृषि कर्म गर्न स्वीकार्य छैन । विदेशमा पसिना बगाउन तयार हामी नेपालमै कृषि व्यवसाय गर्न इज्जत र प्रतिष्ठा गुमेको महसुस गर्छौँ । कृषि पेसालाई प्राथमिकता नदिनु, कृषि कर्मलाई सम्मान नगरिनु नै हाम्रो प्रमुख दोष हो । त्यसै गरी हाम्रो कृषिका लागि प्राकृतिक वातावरण जति नै राम्रो स्तरीय भए पनि पूर्वाधारको कमीले कृषिको विकास हुन नसकेको तथ्य यथार्थ हो ।
यसर्थ नेपालको हावापानी सुहाउँदो कृषि व्यवसायको थालनी गर्नुपर्ने, किसानलाई आवश्यक तालिम, सहुलियतपूर्ण ऋण र उत्प्रेरणा पुग्नेखालको कार्यक्रम दिन सक्नुपर्ने आजको आवश्यकता हो । उत्पादित वस्तुको उचित मूल्य समायोजन गरी राष्ट्रिय रूपमा बिक्री वितरण र अन्तर्राष्ट्रिय स्तरसम्मको उत्पादनमा जोड दिँदै कृषि व्यवसायीलाई प्रोत्साहन, क्षतिपूर्तिको व्यवस्थामा सरकारले ध्यान दिने हो भने नेपालको भावी कृषि नीति र व्यवसायीले उपलब्धि हासिल गर्न सक्छन् ।त्यसका लागि युवालाई कृषिमा जोड्ने र उत्पादनमा प्रविधिको विकास गर्ने हो भने पक्कै पनि देश समृद्धिको बाटोमा लम्किनेमा दुई मत छैन ।