बलेरोको ठक्करबाट दैलेखमा पैदलयात्रीको मृत्यु

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ चुप्रास्थित समला टोल नजिकै बलेरो पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । चुप्राबाट देउली बजारतर्फ जाँदै गरेको बलेरो पिकअपले ठक्कर दिँदा दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ बेलपाटा बस्ने २९ वर्षीय जुठे विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रवार साझ कर्णाली प्रदेश ०२–००१ च १८२६ नम्बरको बलेरो पिकअपले सडकमा पैदल हिँडिरहेका विकलाई ठक्कर दिएको थियो । बर्दियाको बाँसगढी नगरपालिका–१ बस्ने २३ वर्षीय प्रतुस कँवरले चलाएको उक्त गाडीको ठक्करबाट विकको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको थियो । दुर्घटनापछि गम्भीर घाइते विकलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको भएपनि अस्पतालले मृतक घोषणा गरेको थियो । जिल्ला बर्दिया बाँसगाडी न.पा.१ बस्ने बर्ष २३ का प्रतुस कँवरलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।


