Loading... आजः शनिबार, कार्तिक १५, २०८३
Trending

बढ्दै अनलाइन ठगी, ३१ लाखभन्दा बढी रकम गायब


दैलेख  :   त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत नारायण नगरपालिका–३ की १६ वर्षीया किशोरीले फेसबुकको वालमा देखिएको सामान अर्डर गर्नुभयो । अनलाइनमा देखिएको सामान खरिद गर्ने क्रममा विश्वासमा पर्नुभएको उहाँको एक लाख रुपैयाँ ठगी भयो । आफू ठगीमा परेको थाहा पाएपछि उहाँले तत्कालै ठगीमा संलग्न व्यक्तिले प्रयोग गरेको ह्वाट्सएप नम्बरको स्क्रिनसटसहित प्रहरीमा निवेदन दिनुभयो । प्रहरीले घटनाको अनुसन्धान गर्दै सम्बन्धित बैंकलाई पत्राचार गरी रकम गएको खाताको विवरण खोजी ग¥यो । बैंकसँगको समन्वय र प्रहरी अनुसन्धानका क्रममा ठगीमा संलग्न सिरहा जिल्लाका एक युवालाई काठमाडौंमा पक्राउ गर्न प्रहरी सफल भयो। पक्राउ परेका युवाले ठगी गरेको एक लाख रुपैयाँ पूरै फिर्ता गरेपछि किशोरीले आफ्नो रकम फिर्ता पाउनुभएको छ ।
त्यस्तै, नारायण नगरपालिका–१ नयाँ बजारमा सिलाइकटाइ व्यवसाय सञ्चालन गर्दै आएकी एक महिलाको बैंक खाताबाट नौ लाख रुपैयाँ गायब भयो । छोराछोरीलाई मोबाइल चलाउन कोठामा छोडेर पसलमा आउनुभएको उहाँले आफ्नो खातामा रहेको रकम एक्कासि घटेको देखेपछि प्रहरीमा निवेदन दिनुभयो । प्रहरीले निवेदनका आधारमा अनुसन्धान सुरु गरे पनि अहिलेसम्म रकम निकाल्ने व्यक्ति वा ठगीमा संलग्नको पहिचान हुन सकेको छैन ।
यी दुई घटना दैलेखमा अनलाइन माध्यमबाट हुने ठगीका प्रतिनिधि उदाहरण मात्र हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखमा २०८३ साउनदेखि हालसम्म अनलाइन ठगीसम्बन्धी २२ वटा उजुरी परेका छन् । प्रहरीको विवरणअनुसार अनलाइन ठगीबाट ३१ लाख ५८ हजार ५०३ रुपैयाँ गुमेको छ । तीमध्ये एउटा उजुरीमा एक लाख रुपैयाँ असुल गरी पीडितलाई फिर्ता गराइएको छ भने बाँकी २१ वटा उजुरीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायाले सामाजिक सञ्जालमा देखिने सामान खरिदबिक्री, अनलाइन कारोबार तथा विभिन्न आर्थिक प्रलोभनलाई माध्यम बनाएर सर्वसाधारणलाई ठगी गर्ने क्रमले नागरिकको आर्थिक सुरक्षामा चुनौती थपिएको बताउनुभयो । उहाँले प्रविधिको प्रयोग र अनलाइन कारोबारमा पर्याप्त सावधानी नअपनाउँदा विद्यार्थी, व्यवसायी तथा सर्वसाधारणसमेत ठगीको जोखिममा पर्ने गरेको बताउनुभयो ।
अनलाइन कारोबार गर्दा अपरिचित व्यक्तिलाई विश्वास गरेर रकम नपठाउन, सामाजिक सञ्जालमा देखिने आकर्षक प्रस्तावको सत्यता जाँच गर्न तथा शंकास्पद लिंक नखोल्न आवश्यक सचेतना जगाउनुपर्ने प्रहरी निरीक्षक रोकायको भनाइछ । उहाँले दैलेखमा एउटै ब्यक्तिको नौ लाख ४७ हजार सम्म स्कयानरले लगेको देखिन्छ । लामो समय ब्यापार व्यवसाय गरेकै ब्यक्ति आफ्नो बैँकको केवाईसी अपडेट,सामान खरिद बिक्रि गरी लाभ लिने बाहानामा अनलाइन ठगिमा पर्ने गरेका छन ।