Loading... आजः शुक्रबार, कार्तिक १४, २०८३
Trending

अधुरै अस्पताल भवन

..

कमल शर्मा
दैलेख  :  दैलेख जिल्ला अस्पतालको ५० शैय्याको सुविधा सम्पन्न भवन निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अधुरै छ । निर्माण सम्पन्न गर्न पटक–पटक म्याद थपिए पनि कामले गति लिन नसक्दा निर्धारित समयसीमा सकिएको लामो समय बितिसक्दा समेत भवन निर्माण पूरा हुन नसकेको हो । भवन निर्माणमा भइरहेको ढिलाइले अस्पतालको सेवा प्रवाहमा समेत असर परेको छ । बिरामीले पर्याप्त शैय्या नपाउने र पुरानो तथा साँघुरो भवनमै कोचाकोच गरेर उपचार गराउनुपर्ने बाध्यता कायमै छ ।
२०७८ जेठ १० गतेदेखि निर्माण सुरु भएको भवन २०८१ जेठ ३० गतेभित्र सम्पन्न गर्ने सम्झौता थियो । तर सम्झौताको समयसीमा सकिएको दुई वर्ष बितिसक्दा पनि भवनको भौतिक प्रगति करिब ७५ प्रतिशत मात्रै पुगेको छ । १८ करोड २३ लाख ९९ हजार ३८१ रुपैयाँ लागतमा निर्माणको जिम्मा पाएको श्री प्रेरा÷क्याराभान÷सुपर स्टार जेभीले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि निर्माण अवधि पटक–पटक थपिएको हो । दोस्रो पटक थपिएको म्याद २०८२ फागुन मसान्तमा सकिएको थियो । त्यसपछि तेस्रो पटक २०८३ भदौ मसान्तसम्म म्याद थपिए पनि उक्त अवधिमा समेत भवन निर्माण पूरा हुन नसक्दा पुन चौथो पटक म्याद थप गरिएको जिल्ला अस्पताल दैलेखले जानकारी दिएको छ ।
जिल्ला अस्पताल दैलेखका कार्यालय प्रमुख डा दिप्ती सिह ठकुरींले निर्माण कम्पनीले अस्पताल भवन निर्माणको म्याद थपको निबेदन दिएपश्चात कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले २०८३ चैत मसान्त सम्म अन्तीम पटकका लागी म्याद थप गरिएको जानकारी दिनुभयो । उहाँले निर्माण कम्पनीलाई म्याद थप भएदेखी निर्माणको कामलाई तत्काल सुरु गर्न निर्माण कम्पनीलाई आग्रह गरिएको बताउनुभयो ।
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले जिल्ला अस्पताल दैलेखको भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीलाई अन्तीम पटकका लागि म्याद थप गरिएको बताउनुभयो । उहाँले निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरे ठेक्का तोड्नेसम्मको कानुनी प्रावधान रहेको भएपनि ठेक्का तोड्दा भवन निर्माणका काम झन ओझेल पर्ने भएका कारण पुरानै कम्पनीलाई म्याद थपको निर्णय गरिएको बताउनुभयो ।
निर्माणको जिम्मा पाएको श्री प्रेरा÷क्याराभान÷सुपर स्टार जेभीका प्रोप्राइटर तारा कुमारी शाहीले आफुहरुले भवन निर्माण म्याद थपिएकै समयमै सम्पन्न गर्ने गरी काम अगाडी बढाइने बताउनुभयो । उहाँले भन्नुभयो भवन निर्माणको काम निरन्तर गरिरहेको भएपनि तोकिएको मितिमा सम्पन्न गर्न नसकिएको बताउदै थपीएको म्याद भित्रै भवन निर्माण हुन्छ । जिल्ला अस्पताल दैलेख हाल १५ शय्याको स्वीकृत क्षमतामा रहे पनि ५१ शय्यासम्म सेवा दिँदै आएको छ । नयाँ भवन निर्माणमा भएको ढिलाइका कारण २०४२ सालमा निर्माण भएको पुरानो भवनबाटै बिरामीलाई कोचाकोच गरेर उपचार गर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ ।