भैलो सस्कृतिको परम्परा जोगाउँदै युवाहरू

कमल शर्मा
दैलेख : लामबद्ध भएर ‘भैलारु भैलो’ भन्दै परम्परागत भाका भट्याउँदै अघि बढ्ने समूह, पञ्चेबाजा र नगरा, नायकलाई काँधमा बोकेर गरिने प्रस्तुति । दैलेखको पश्चिममा पर्ने आठबिस नगरपालिका–१ सात्तलामा प्रत्येक वर्ष दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको रात यस्तै दृश्य देखिन्छ । पुस्तौँदेखि चल्दै आएको सात्तलाको भैलोमा स्थानीय युवादेखि अग्रजसम्म सहभागी हुने गर्दछन । सात्तलाको भैलो अन्य ठाउँमा तिहारका बेला खेलिने भैलोभन्दा फरक छ । यहाँ कोजाग्रत पूर्णिमाको रात भैलो खेल्ने परम्परा छ धार्मिक विश्वास अनुसार उक्त रात सम्पन्नताकी देवी महालक्ष्मीको आराधना गर्दै जाग्राम बसेमा धनधान्य र ऐश्वर्य प्राप्त हुने मान्यता छ । भैलोको सुरुवात कहिलेदेखि भएको हो भन्ने लिखित इतिहास नभएपछि स्थानीय धार्मिक विश्वास र मौखिक परम्पराका आधारमा यो चलन निरन्तर रहँदै आएको छ ।
भैलो सुरु हुनुअघि स्थानीय दमाई बस्तीबाट बिहानै ‘भैल्या बाजो’ वा ‘वर्षदिन्या बाजो’ बजाउने चलन छ । त्यसपछि विशेष पूजाआजा गरी कुपिण्डोको बलि दिने, टीका, जमरा र फूलमाला लगाउने गरिन्छ । परम्पराअनुसार नायकलाई काँधमा बोकेर पञ्चेबाजा र नगरा बजाउँदै भैलो खेलिन्छ। भैलारुहरू लामबद्ध भएर भाका भट्याउँदै अघि बढ्छन्। यस परम्परामा पाल थापा, पाल दमाई र कडारा समुदायको महत्त्वपूर्ण भूमिका रहने गरेको छ । भैलोका क्रममा जानकार अग्रजहरूले देवीदेवता, प्रकृति, देश, गाउँसमाज र जनजीवनसँग सम्बन्धित भैलोमा पुकार गर्छन । सहभागीहरूले ‘साब्बाई–साब्बाई’ भन्दै साथ दिने गर्छन् । पुरुषहरू गोलो घेरा बनाएर हात समाउँदै एकल तथा दोहोरो चालमा नाच्ने परम्परा पनि छ । भैलोपछि देउडा, रतेउली, ठाडीभाका र फुर्कोजस्ता सांस्कृतिक गतिविधि गरिन्छन् । अन्त्यतिर भैल्याराहरूले नायकसँग बोकाको माग गर्ने परम्परासमेत रहेको छ ।
आठबिस नगरपालिकाका कार्यपालिका सदस्य एवम भैलो संरक्षण अभियानका अभियानता समेत रहनुभएका युवा वीरबहादुर माक्सवादीका अनुसार सात्तलाको भैलोमा सहभागी हुन दैलेखसहित अछाम, कालिकोट, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया र कैलालीलगायतका जिल्लाबाट मानिसहरू आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो दशैको अन्तीम दिन कोजागत पूर्णिमामा लाग्ने भैलोमा सहभागी हुन रोजगारीका लागि भारत तथा अन्य सहरमा गएका युवासमेत दशैँको अन्तिम दिनसम्म घर फर्किएर भैलोमा सहभागी हुने गरेको उहाँले बताउनुभयो ।
माक्सवादीका अनुसार भैलोमा यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, कर्णाली प्रदेशसभा सदस्य, स्थानीय तहका वर्तमान तथा पूर्वजनप्रतिनिधि र राजनीतिक दलका अगुवा नेताहरूको समेत सहभागिता रहने गरेको छ ।
आठबिस नगरपालिका–१ का वडाध्यक्ष बमबहादुर रावतले सात्तलाको भैलो संस्कृति संरक्षणका लागि वडाले बजेट विनियोजन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। “हाम्रो संस्कृति बचाउन विभिन्न कार्यक्रम गर्दै आएका छौँ। यस वर्ष देउँडा खेलाउने तयारीसमेत गरेका छौँ,” उहाँले भन्नुभयो ।
पछिल्लो समय परम्परागत भाका, पहिरन र विधिबारे जानकार अग्रजको सङ्ख्या घट्दै जानु संस्कृति संरक्षणका लागि चुनौती बनेको युवाहरुको भनाइछ । मौखिक रूपमा पुस्तान्तरण हुँदै आएका भाकाको अभिलेखीकरण गर्ने, युवालाई पुराना विधि सिकाउने र सांस्कृतिक गतिविधिमा उनीहरूको सहभागिता बढाउने काम आवश्यक देखिएको युवाहरुले बताएका छन ।
जात्रामा सहभागी युवा रत्न बुढाले बुढापाकाले प्रत्येक वर्ष भैलो भट्याउने गरेको भएपनि त्यसका बारेमा युवाहरुलाई आवश्यक प्रशिक्षित गरिनु पर्ने बताउनुभयो । उहाँले परम्परागत भैलोका विधि र भाकालाई निरन्तरता दिनका लागि युवाहरुको चासो दिएपनि त्यसलाई सस्थागत रुपमा अगाडी बढाउनु पर्नेमा जोडदिनुभयो । स्थानीय युवाको सहभागिता र स्थानीय सरकारले संरक्षण प्रयासले सात्तलाको भैलो परम्परालाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


