धार्मिक पर्यटन प्रवद्र्धन गर्न युवा महोत्सव


दैलेख : धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दैलेखको दुल्लु नगरपालिका–१३ स्थित ऐतिहासिक मालिका मन्दिरमा तीनदिने धार्मिक महोत्सव आयोजना गरिएको छ । धर्म–संस्कृतिको पहिचान, युवाको काँधमा संरक्षण अभियान, मालिकाको गौरव बचाऔँ र इतिहास पुस्तौँसम्म जोगाऔँ’ भन्ने नाराका साथ कर्णाली युवा संघ दैलेखको आयोजना, मालिका मन्दिर व्यवस्थापन समितिको सहआयोजना तथा दुल्लु नगरपालिका–१३ को आर्थिक सहयोगमा शनिवार मालिका मन्दिर उत्पत्ति कथा वाचन तथा ऐतिहासिक धार्मिक युवा महोत्सव’ सञ्चालन गरिएको बताइएको छ ।
महोत्सव उद्घाटन गर्दै दुल्लु नगरपालिकाका प्रमुख भरतप्रसाद रिजालले ऐतिहासिक धरोहरका रूपमा रहेको मालिका मन्दिरले अपेक्षित प्रचारप्रसार पाउन नसकेको बताउनुभयो । मन्दिरको उत्पत्तिकथा, ऐतिहासिक पृष्ठभूमि र धार्मिक महत्त्व उजागर गरी यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महोत्सवले योगदान पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख रिजालले ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र प्रचारप्रसारमा स्थानीय तह तथा समुदायले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। युवाहरूले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उल्लेख गर्दै उहाँले ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणमा सक्रिय हुन आह्वान गर्नुभयो । पछिल्लो समय ‘जेनजी’का नाममा पुराना पुस्ताले गरेका कामलाई गलत ठहर गर्ने प्रवृत्तिबीच दुल्लुका युवाहरूले ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि सकारात्मक पहल गरेको उहाँले बताउनुभयो ।
दुल्लु नगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले मालिका मन्दिरको बृहत्तर विकासका लागि वडा कार्यालय तथा जनप्रतिनिधिहरूले आवश्यक पहल गरिरहेको बताउनुभयो । मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्व स्थापित गर्दै यसको संरक्षण, विकास र प्रचारप्रसारका लागि विभिन्न प्रयास भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
कर्णाली युवा संघका अध्यक्ष ललित थापाले मालिका मन्दिरको वास्तविक इतिहास, उत्पत्तिकथा र धार्मिक महत्ववलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी व्यापक प्रचारप्रसार गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धन कुनै एक संस्था वा व्यक्तिको मात्र जिम्मेवारी नभई स्थानीय समुदाय, जनप्रतिनिधि, युवा तथा सरोकारवाला सबैको साझा दायित्व भएको उहाँको भनाइ थियो । मन्दिरको पहिचान स्थापित गर्दै धार्मिक पर्यटनको सम्भावना उजागर गर्न युवाहरूले अभियानको नेतृत्व गरिरहेको अध्यक्ष थापाले बताउनुभयो ।
ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण, स्थानीय पहिचानको प्रवद्र्धन र धार्मिक पर्यटनको विकासमा जोड दिँदै आयोजना गरिएको महोत्सवले मालिका मन्दिरलाई व्यापक रूपमा चिनाउन तथा यस क्षेत्रको पर्यटकीय सम्भावना उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीयले बताएका छन ।

