भाडाबापत १८ लाख असुल, २० लाख अझै असुल गर्न बाँकी


दैलेख : दैलेख जिल्ला सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयले लामो समयदेखि उठाउन नसकेको सटर तथा घुम्तीको भाडा असुलीमा कडाइ गरेको छ । विद्यालय व्यवस्थापन समितिले भाडा नतिर्ने व्यवसायीका पसलमा तालाबन्दी गर्ने निर्णय गरेपछि भाडाबापतको रकम असुल हुन थालेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृतबहादुर प्याकुरेलका अनुसार तालाबन्दी गर्ने निर्णयपछि १८ लाख रुपैयाँ भाडा असुल भएको छ। विद्यालयले भाडाबापत उठाउनुपर्ने कुल ३८ लाख रुपैयाँमध्ये अझै करिब २० लाख रुपैयाँ असुल गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष प्याकुरेलले विद्यालयको अभिलेखअनुसार व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीबाट १७ लाख रुपैयाँ र व्यवसाय छाडेर सम्पर्कविहीन भएकाहरूबाट २१ लाख रुपैयाँ भाडा उठाउनुपर्ने देखिएको बताउनुभयो । व्यवसाय छाडेर सम्पर्कविहीन भएकाहरूबाट समेत भाडा असुल गर्न विद्यालयले कानुनी परामर्श गरिरहेको उहाँले जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक नीरकबहादुर तारामीले लामो समयदेखि भाडा असुल गर्न नसकिरहेको अवस्थामा विद्यालय व्यवस्थापन समितिमा नयाँ नेतृत्व आएपछि उल्लेख्य रकम उठाउन सफल भएको बताउनुभयो । लामो समयदेखि भाडा बक्यौता रहेको र केही भाडावालाको मृत्युसमेत भइसकेको उल्लेख गर्दै उहाँले उनीहरूले तिर्नुपर्ने रकमका विषयमा विद्यालय व्यवस्थापन समितिले आवश्यक निर्णय गरेर अगाडि बढ्ने बताउनुभयो । विद्यालयले निर्माण गरेका सटर तथा घुम्तीबाट मासिक दुई लाख ३४ हजार रुपैयाँ आम्दानी हुने गरेको भए पनि विद्यालयको मासिक खर्च तीन लाख रुपैयाँ रहेको प्रधानाध्यापक तारामीले बताउनुभयो। उहाँका अनुसार विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक छनोट गरी छ जना शिक्षकलाई जनही २८ हजार रुपैयाँका दरले मासिक तलब उपलब्ध गराउँदै आएको छ ।
विद्यालयको हाताभित्र रहेका विभिन्न सटर तथा घुम्ती सम्झौताअनुसार भाडामा लगाइए पनि लामो समयसम्म भाडा नतिर्ने र पटक–पटक सूचना जारी गर्दा समेत अटेर गर्ने प्रवृत्तिका कारण असुलीमा समस्या हुँदै आएको विद्यालयले जनाएको छ। विद्यालय व्यवस्थापन समितिको असोज २१ गते बसेको बैठकले भाडा नतिर्ने व्यवसायीका पसलमा तालाबन्दी गर्ने निर्णय गरेको थियो। त्यसपछि व्यवसायीले विद्यालयमा भाडाबापतको रकम जम्मा गर्न थालेका हुन्। अध्यक्ष प्याकुरेलका अनुसार केही व्यवसायीले नगद र केहीले चेकमार्फत भाडा बुझाएका छन्। अबदेखि नियमित रूपमा भाडा असुल गर्न कार्यविधि निर्माण गरी मासिक रूपमा भाडा संकलन गर्ने तयारी भइरहेको अध्यक्ष प्याकुरेलले बताउनुभयो ।

