Loading... आजः आइतवार, अशोज २५, २०८३
Trending

दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू गर्ने निर्णय


दैलेख :   दसैँ–तिहारको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक यातायातमा टाइम कार्ड लागू गर्ने निर्णय गरिएको छ । चाडपर्वका बेला यात्रुको चाप बढ्ने र गन्तव्यमा छिटो पुग्ने होडमा तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै शुक्रवार प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा बसेको सर्बपक्षिय सर्वदलित बैठकले दैलेख बाट विभिन्न स्थानमा जाने सार्वजनिक यातायातमा टाइम कार्ड लगाउने निर्णय गरेको हो । सडक सुरक्षा तथा यातायात व्यवस्थापनका विषयमा छलफल गर्दै चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू गर्ने, सवारीसाधनको नियमित चेकजाँच गर्ने र चालकलाई ट्राफिक नियम पालना गराउने लगायतका निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी आनन्द सारुले लामो दूरीमा सञ्चालन हुने सवारीसाधनको आवागमनलाई ब्यबस्तीत गरी दुर्घटना न्युनीकरण गर्न उक्त निर्णय गरिएको बताउनुभयो । उहाँले चाडपर्वमा बढी यात्रु आवागमन हुने मार्ग तथा स्थानमा चेकजाँच बढाउने, लामो दूरीका सवारीमा अनिवार्य दुई चालकको व्यवस्था गर्ने र चालकलाई आवश्यक विश्रामको व्यवस्था मिलाउने निर्णयसमेत गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो सवारी दुर्घटनाको जोखिम घटाउन डिभिजन सडक कार्यालय, पूर्वाधार विकास कार्यालय र स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्रका सडकका खाल्डाखुल्डी पुर्ने, सडक किनार सफा गर्ने, ट्राफिक संकेत तथा मार्किङ गर्ने, स्पिड ब्रेकर र जोखिमयुक्त मोड सुधार गर्ने तथा पुल, कल्भर्ट र पहिरो प्रभावित क्षेत्रको व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।
चालकलाई तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने कार्यबाट रोक्न सचेतना कार्यक्रम सञ्चालन गर्न जिल्ला ट्राफिक कार्यालय दैलेखलाई जिम्मेवारी दिएको छ । सवारीसाधनको यान्त्रिक परीक्षण तथा ट्राफिक नियमको पालना भए–नभएको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी, यातायात व्यवसायी र सम्बन्धित निकायले संयुक्त रूपमा काम गर्ने निर्णय गरिएको छ ।
बैठकमा जिल्ला ट्राफिक कार्यालय दैलेखका कार्यालय प्रमुख जयसिह गुरुले कर्णाली राजमार्गको दैलेख खण्ड तल्लो डुगेश्वर देखी कालिकोट जिल्लाको सिमाना दहि खोलामा सम्म र दैलेख बाट सुर्खेत जाने सवारी साधनमा अनिवार्य टाइमकार्ड लागु गरिने बताउनुभयो । उहाँले कर्णाली राजमार्गमा राती आठ बजे देखी सवारी साधन चलाउनुमा रोक लगाइएको भएपनि दशै तिहारको बिचमा खुल्ला गर्ने निर्णय समेत गरिएको बताउनुभयो ।
यातायात समितिका प्रतिनिधि आनन्द केसीले सवारी साधनको दुर्घटना रोक्न टाइम कार्ड लागु गर्न आफुहरु तयार रहेको बताउनुभयो । उहाँले सार्वजनिक सवारी साधनलाई ब्यबस्थी रुपमा संचालन गर्ने र रोलक्रम अनुसार सवारी साधन संचालन गर्ने बताउनुभयो ।