Loading... आजः आइतवार, अशोज १८, २०८३
Trending

जेष्ठनागरिकलाई घर आगनमै बिशेषज्ञ स्वास्थ्य सेवा


दैलेख :  नारायण नगरपालिकाले जेष्ठनागरिकलाई घर आगनमै बिशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गरेको छ । नगरपालिकाले पहिलो चरण वडा–६ र १० का ५२० जना ज्येष्ठ नागरिकको विशेषज्ञ स्वास्थ्य परीक्षण गरि आवश्यक औषधी प्रदान गरेको छ । नगर प्रमुखसँग ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य शिविर’ कार्यक्रमअन्तर्गत विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकको सहभागितामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले दिएको जानकारी अनुसार प्रदेश अस्पताल दैलेखका युरोलोजिस्ट डा. निर्मल रसाइली, जनरल सर्जन डा. प्रहसन राई, स्त्रीरोग विशेषज्ञ जगत थापा क्षेत्री तथा यौनरोग विशेषज्ञ डा. कञ्चन त्यातीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
नारायण नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सहायक लालबहादुर खड्काका अनुसार वडा नं. ६ र १० बाट गरी ५२० जना ज्येष्ठ नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा लिएका छन् । ज्येष्ठ नागरिकलाई स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने बाध्यता कम गर्दै स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले नगरपालिकाले प्रत्येक वर्ष प्रत्येक वडामा पुगेर बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरी नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले जेष्ठनागरिकलाई अस्पताल आउन कठिन हुने र रोग लुकाउने समस्या रहने समस्यालाई समधान गर्न उक्त कार्यक्रम नगरपालिकाले निरन्तर संचालन गरिरहेको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाका सबै वडाका जेष्ठनागरिकलाई आवश्यक औषधी वितरण,स्वास्थ्य परीक्षण र रिफर गर्नुपर्ने बिरामीहरुलाई रिफर गरी आवश्यक सहयोग प्रदान गर्दै आएका छौँ ।
नारायण नगरपालिका –१० का जेष्ठनागरिक कालि बहादुर थापाले नगरपालिकाले जेष्ठनागरिकको स्वास्थ्य प्रथामिकता दिएर बिशेषज्ञ शिविरनै संचालन गरेर नागरिकलाई घरआगनमै सेवा प्रवाह गरेकोमा धन्यबाद दिनुभयो ।