Loading... आजः सोमवार, अशोज १२, २०८३
Trending

सहकारीलाई ११ लाखको तरकारी बिक्री

..


दैलेख  :   नारायण नगरपालिका–२ का वडाध्यक्ष रेशमबहादुर थापाको अधिकांश समय जनताको सेवामै बित्छ । वडाका नागरिकका समस्या सुन्ने, विकास निर्माणका कामको अनुगमन गर्ने र सार्वजनिक जिम्मेवारी पूरा गर्ने उहाँको नियमित काम हो । तर जनताको सेवा गरेर बचेको समय भने उहाँले व्यावसायिक तरकारी खेतीमा लगाउँदै आउनुभएको छ । थापाले आफ्नै खेतबारीमा उत्पादन गरेको तरकारी कृतिदेवल बहुउद्देश्यीय सहकारी संस्थामार्फत बिक्री गर्दै आउनुभएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा मात्रै उहाँले ११ लाख रुपैयाँभन्दा बढीको तरकारी सहकारीलाई बिक्री गर्नुभएको छ । जनप्रतिनिधिको जिम्मेवारीसँगै कृषि पेसालाई पनि निरन्तरता दिँदै आउनुभएका थापाका लागि सहकारीले उत्पादित तरकारी खरिद तथा बजारीकरण गरिदिएपछि खेती गर्न सहज भएको छ ।
व्यावसायिक तरकारी खेतीमा सक्रिय थापा आर्थिक वर्ष २०८२/०८३ मा कृतिदेवल बहुउद्देश्यीय सहकारी संस्थाबाट उत्कृष्ट कृषकको प्रथम स्थान हासिल गर्दै पुरस्कृतसमेत हुनुभएको छ । थापा मात्र होइन, नारायण नगरपालिका–२ जाहारकोटका सयौँ कृषकले उत्पादन गरेको तरकारीको बजारीकरणमा सहकारीले सहजीकरण गर्दै आएको छ । सहकारीले आर्थिक वर्ष २०८२/०८३ मा आफ्ना शेयर सदस्य कृषकले उत्पादन गरेको ८७ लाख २८ हजार १६७ रुपैयाँ बराबरको तरकारी खरिद गरी बजारीकरण गरेको छ । जाहारकोटका अधिकाँस घरपरिवारले उत्पादन गर्ने तरकारीलाई सहकारी खरिद गरी बजारीकरण समेत गर्ने गरेको छ ।
व्यावसायिक तरकारी खेती गर्न थालेको डेढ दशक पुगेकी नारायण नगरपालिका–२ जाहारकोटकी खगिसरा भण्डारीका लागि पनि सहकारीको यो पहलले उत्पादनपछि बजार खोज्नुपर्ने समस्या हटाएको छ । यसअघि उत्पादन गरेको तरकारी बोकेर बजारसम्म ल्याउने र बजार डुलाएर बिक्री गर्नुपर्ने बाध्यता रहे पनि अहिले घरआँगनमै रहेको सहकारीले तरकारी खरिद गरिदिने गरेको उहाँ बताउनुहुन्छ । “पहिला तरकारी बोकेर बजार आउनुपथ्र्यो र बजार डुलाएर बिक्री गर्नुपथ्र्यो,” भण्डारीले भन्नुभयो, “अहिले घरआँगनमै रहेको सहकारीले तरकारी खरिद गरिदिन्छ। दैनिक तरकारी बोकेर बजार आउनुपर्ने बाध्यता छैन।” भण्डारीले पनि आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट कृषकको दोस्रो स्थान हासिल गर्दै पुरस्कार प्राप्त गर्नुभएको छ। उहाँले सहकारीलाई एक आर्थिक बर्षमा दश लाख ५२ हजारको तरकारी सहकारीलाई दिनुभएको छ । त्यस्तै उत्कृष्ट कृषकतर्फ तेस्रो स्थान लोकेन्द्रबहादुर थापाले हासिल गर्नुभएको छ । उहाले नौ लाख भन्दा बढिको तरकारी सहकारीलाई बिक्रि गर्नुभएको छ ।
कृतिदेवल बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष दिपक कुमार थापाले कृषकले उत्पादन गरेको तरकारी खरिद गरी बजारीकरण गर्न थालेपछि सदस्य कृषकलाई बजारको खोजीमा भौँतारिनुपर्ने बाध्यता हट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो कृषक सदस्यले उत्पादन गरेको तरकारीको बजारीकरणका लागी सहकारीले गाडी खरिद गरेर बजारमा लगेर बिक्रि गर्दछ । सहकारीले बचत तथा ऋण कारोबारसँगै सदस्य कृषकको उत्पादनलाई बजारसँग जोड्ने कामलाई समेत प्राथमिकता दिएको अध्यक्ष थापाले बताउनुभयो ।
नारायण नगरपालिका दैलेखका सामाजिक विकास शाखा प्रमुख एवम सहकारी रर्जिस्टर खम बहादुर थापाले स्थानीय कृषकलाई व्यावसायिक कृषि उत्पादनमा जोडिन सहकारीको अभियानले प्रोत्साहन मिलेको बताउनुभयो । उहाँले कृषि मार्फत मुलुकको आयमा बृद्धि सकिने हुँदा कृषकले उत्पादन गरेको बस्तुको बजारीकरणको ग्यारेन्टी गरेको खण्डमा कृषक समेत उत्साही भएर उत्पादनमा जोडिने बताउनुभयो । सहकारी आर्थिक बर्ष २०८२/०८३ मा करिव सात करोड ६९ लाख २३ हजार ८९७ रुपियाँको कारोवार गरेको छ ।