दैलेखमा घरमै सुत्केरी हुने क्रम घट्दै

दैलेख : केही समय अघिसम्म गाउँघरमा गर्भवती महिला सुत्केरी हुने बेला छुट्टै तयारी हुन्थ्यो । स्वास्थ्य संस्था पुग्नेभन्दा गाउँकै ‘सोड्यार्नी’ बोलाएर घरमै सुत्केरी गराउने चलन थियो । सुत्केरी गराउनेदेखि आमा र नवजात शिशुको हेरचाहसम्मको जिम्मेवारी उनै सोड्यार्नीले सम्हाल्थे। कतिपय अवस्थामा उनीहरूले आफैं हात हालेर बच्चा निकाल्ने गर्थे । प्रसूतिका क्रममा अत्यधिक रक्तश्राव हुने, बच्चा जन्माउन कठिनाइ हुनेजस्ता समस्या आउँदा तत्काल स्वास्थ्य संस्था पु¥याउन नसक्दा आमा र नवजात शिशुको ज्यान जोखिममा पर्ने अवस्था थियो । समयसँगै दैलेखमा प्रसूतिको यो अभ्यास विस्तारै बदलिँदै गएको छ । गर्भवती भएपछि नियमित स्वास्थ्य परीक्षण गराउने, प्रसूतिको समय पहिल्यै स्वास्थ्य संस्थामा पुग्ने र दक्ष स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी हुने क्रम बढेको छ। घरमै सुत्केरी गराउने पुरानो चलन घट्दै स्वास्थ्य संस्थालाई प्रसूतिको सुरक्षित थलोका रूपमा रोज्ने महिलाको संख्या बढ्दै गएको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखको तथ्यांकले पनि घरमै सुत्केरी हुने क्रम घट्दै स्वास्थ्य संस्थामा पुगेर प्रसूति सेवा लिनेको संख्या बढ्दै गएको देखाएको छ। कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा ११२ जना महिला घरमै सुत्केरी भएका थिए। आर्थिक वर्ष २०८०/८१ मा यो संख्या घटेर ८६ मा पुगेको थियो। आर्थिक वर्ष २०८१/८२ मा घरमै सुत्केरी हुनेको संख्या ४३ मा झरेकोमा आर्थिक वर्ष २०८२/८३ मा पनि ४३ जना महिला घरमै सुत्केरी भएका छन्। चार आर्थिक वर्षको तथ्यांक हेर्दा घरमै सुत्केरी हुने महिलाको संख्या ११२ बाट ४३ मा झरेको छ । अर्थात् चार वर्षको अवधिमा घरमै प्रसूति हुनेको संख्या ६९ जनाले घटेको हो ।
स्वास्थ्य संस्थामा पुगेर प्रसूति सेवा लिने महिलाको संख्या भने पछिल्ला वर्षमा बढ्दै गएको छ । आर्थिक वर्ष २०७९/८० मा ५७० जना महिलाले स्वास्थ्य संस्थामा पुगेर सुत्केरी सेवा लिएका थिए । आर्थिक वर्ष २०८०/८१ मा यो संख्या ५२२ मा झरे पनि त्यसपछिका वर्षमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा ६४२ जना र आर्थिक वर्ष २०८२/८३ मा ६५८ जना महिलाले स्वास्थ्य संस्थामा पुगेर प्रसूति सेवा लिएका छन् । चार वर्षको अवधिमा स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने महिलाको संख्या ५७० बाट ६५८ पुगेको छ। विशेषगरी पछिल्ला दुई आर्थिक वर्षमा स्वास्थ्य संस्थामा हुने प्रसूतिको संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. मनोज विश्वकर्माले पछिल्लो समय स्वास्थ्य संस्थामा गएर प्रसूति हुने महिलाको संख्या बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँका अनुसार आमा र बच्चाको स्वास्थ्य सुरक्षाबारे समुदायमा बढेको सचेतनाका कारण स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने क्रम बढेको हो । उहाँले भन्नुभयो सरकारले दिने सुत्केरी प्रोत्साहन रकमले पनि स्वास्थ्य सस्थामा पुगेर प्रसुती हुनेको सख्यामा बृद्धि गरेको छ ।
जिल्लामा स्वास्थ्य संस्थामा प्रसूति गराउने क्रम बढे पनि घरमै सुत्केरी हुने अवस्था पूर्ण रूपमा हटेको छैन । आर्थिक वर्ष २०८२/८३ मा मात्रै नौमुले गाउँपालिकामा १४ जना र आठबिस नगरपालिकामा १० जना महिला घरमै सुत्केरी भएका छन् । यसले स्वास्थ्य सेवाको पहुँच र सचेतनामा सुधार आए पनि दुर्गम तथा स्वास्थ्य संस्थाबाट टाढा रहेका बस्तीका गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्थासम्म पु¥याउन अझै चुनौती रहेका देखाएको छ । स्वास्थ्य सस्थामा प्रसुती हुने सख्या बृद्धि भएको भएपनि दुर्गम गाउँमा भने स्वास्थ्य सस्थामा प्रसुती हुन जाँदा स्वास्थ्यकर्मी अभाव हुने जस्ता समस्या झेल्नु परेको स्थानीयले बताउने गरेका छन ।


