घाइते तीन जनाको हेलिकोप्टरबाट उद्धार

हुम्ला : जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–४ को मछारीमा आइतबार बिहान माथिबाट खसेको ढुङ्गा घरको छतमा बजारिदा जेसीभी चालकसहित तीन जना घाइते भएका छन् । घाइते तीनै जनाको नेपाली सेनाको हेलिकोप्टरबाट दिउसो सुर्खेत उद्धार गरिएको हो ।
घटनामा दैलेखको दुल्लु घर भएका जेसीभी चालक वर्ष २९ का बखत खड्का गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले बताउनुभयो । आइतबार बिहानको समयमा रिल्म हुँदै विगाठीसम्मको सडक निर्माण कार्य गरिरहेका उनीहरु मछारी पुलपारिको एक घरमा सुतेका थिए । अचानक माथिबाट खसेको ठूलो ढुङ्गा घरको छतमा खसेपछि घरभित्र सुतेका खड्कासहित रुकुम पश्चिमको सानाभेरी नगरपालिका– १ का वर्ष १६ का रोसन राना र हुम्ला सिमकोट गाउँपालिका–४ निवासी वर्ष १७ को रमेश शाही घाइते भएका हुन् ।
घाइतेमध्ये राना र शाहीको अवस्था सामान्य रहेको छ भने जेसीभी चालक खड्काको टाउकोमा गम्भीर चोट लागेको अदानचुली ४ लौठी घर भएका स्थानीय दिनेश पाण्डेले बताउनुभयो । घटना भएको जानकारी पाएलगत्तै लौठी गाउँबाट स्थानीय घटनास्थलमा पुग्नुभएको थियो । तीनै जनाको श्रीनगर स्वास्थ्य चौकीमा प्राथामिक उपचार भइरहेको भएपनि चालक खड्काको अवस्था निकै गम्भिर देखिएकाले तीनै जनालाई हेलीकप्टर मार्फत सुर्खेत लगिएको उद्धार गरिएको छ । उक्त सडक निर्माणको ठेक्का हुम्लाकै कङ्ग्री निर्माण सेवाका छिरिङ लामाले गर्नुभएको थियो ।


