गुणस्तरीय र मुस्कानसहितको सेवा प्रवाहमा जोड


दैलेख : सेवालिन आउने सेवाग्राहीलाई सहज, सरल, छिटोछरितो र सम्मानजनक सेवा प्रदान गर्ने उद्देश्यले गुणस्तरीय र मुस्कान सहितको सेवा प्रवाह सम्बन्धी प्रशिक्षण गरिएको छ । सामाजिक विकास कार्यालय दैलेखको आयोजनामा जिल्लाका ११ स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा कार्यरत कर्मचारी प्रशिक्षण गरिएको सामाजिक विकास कार्यालयले जानकारी दिएको छ ।
सकारात्मक सोच, जीवन दर्शन, सेवाग्राहीसँगको व्यवहार तथा मुस्कानसहितको सेवा प्रवाहका विषयमा प्रशिक्षक रत्नबहादुर बुढाले प्रशिक्षण दिनुभएको थियो । उहाँले कर्मचारीको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउँदै सेवाग्राहीलाई सहज र सम्मानजनक ढंगबाट सेवा दिनुपर्ने विषयमा जोड दिनुभएको थियो । उहाँले मुस्कानसहितको सेवा भन्नाले सेवाग्राहीसँग हाँसेर बोल्नु मात्र नभई उनीहरूको कुरा ध्यानपूर्वक सुन्ने, समस्या बुझ्ने, नम्र र शिष्ट भाषामा संवाद गर्ने, आवश्यक सूचना स्पष्ट रूपमा उपलब्ध गराउने तथा सेवा प्राप्त गर्ने प्रक्रियाबारे सहजीकरण गर्नेसमेत रहेको बताउनुभयो ।
सामाजिक विकास कार्यालय दैलेखका कार्यालय प्रमुख लोकेन्द्र बिष्टले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीको सोच, व्यवहार र कार्यशैलीमा सकारात्मक परिवर्तन आवश्यक रहेको बताउनुभयो । उहाँले सेवाग्राहीलाई सम्मानपूर्वक व्यवहार गर्ने, उनीहरूका समस्या धैर्यपूर्वक सुन्ने र सेवा लिन आएका नागरिकलाई सहज वातावरणमा सेवा उपलब्ध गराउने कार्यशैली विकास गर्ने योजनाका साथ कर्मचारीलाई प्रशिक्षण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो सेवाग्राहीलाई अनावश्यक झन्झट नदिने, काममा ढिलासुस्ती नगर्ने, भेदभावरहित व्यवहार गर्ने र सेवाग्राहीको अवस्था तथा आवश्यकताअनुसार संवेदनशील भएर सेवा प्रदान गर्नुपर्ने विषयमा समेत प्रशिक्षण दिइएको हो । विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित सेवा प्रवाहमा थप संवेदनशीलतालाई ध्यान दिएर उक्त कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख बिष्टले बताउनुभयो ।
नारायण नगरपालिका दैलेखको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा कार्यरत गीता बुढाले यस्ता कार्यक्रमले सेवाग्राहीसँग गर्ने व्यवहार र सेवा प्रवाहको शैली सुधार गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले सेवालिन आएका सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको भएपनि मुस्कान र सम्मानका साथ सेवा प्रवाह गर्ने कुरामा ध्यान दिन नसकिरहेको बेला यो कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमेश बहादुर मल्लले सार्वजनिक सेवा प्रवाहमा कर्मचारीको व्यवहारले नागरिकको अनुभव र सेवाप्रतिको विश्वासमा प्रभाव पार्ने भएकाले सकारात्मक सोच, सेवाभाव र उत्तरदायी कार्यशैली आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो महिला,बालबालिका र जेष्ठनागरिक हाम्रा सम्पती हुन उनीहरुको संरक्षण सगै सेवा प्रवाह गर्दा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो स्थानीय तहमा कार्यरत कर्मचारीको व्यवहार र कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउँदै नागरिकले सहज, सम्मानजनक र गुणस्तरीय सेवा प्राप्त गर्ने वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

