भारी वर्षाको जोखिमसँगै यातायात र विद्यालय बन्द


दैलेख : लगातारको भारी वर्षाको जोखिम बढेसँगै दैलेखमा यातायात सञ्चालनमा रोक लगाउनुका साथै विद्यालयसमेत बन्द गरिएको छ । मनसुन सक्रिय रहने पूर्वानुमानसँगै बाढी, पहिरो तथा सडक अवरोधको जोखिम बढेपछि सर्वसाधारण तथा विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै यातायात र विद्यालय बन्द गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिले विपद्का बेला प्रयोग हुने उद्धार सामग्रीको जाँच तथा व्यवस्थापन गर्नुका साथै उद्धार टोली र सम्बन्धित निकायलाई तयारी अवस्थामा राखेको छ । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी आनन्द सारुले विपद्का बेला शीघ्र उद्धार तथा तत्काल प्रतिकार्यका लागि सम्बन्धित निकायबीच समन्वय र आवश्यक अभ्यासलाई थप सुदृढ गरिएको बताउनुभयो । मनसुनका कारण बाढी, पहिरोलगायतका विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न उद्धार टोली तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । लगातार वर्षा भइरहेका बेला उद्धारका लागि आवश्यक सामग्रीको उपलब्धता, अवस्था र प्रयोगयोग्यतासमेत निरीक्षण गरिएको छ ।
यसैबीच, लगातारको वर्षाका कारण सडकमा बाढी तथा पहिरोको जोखिम बढेपछि दैलेखमा लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले वर्षाका कारण जोखिम बढेकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेत–दैलेख हुँदै माथिल्लो कर्णाली राजमार्गमा सञ्चालन हुने सवारीसाधन तथा दैलेख सदरमुकामबाट जिल्लाका विभिन्न स्थानीय तहका मुकामतर्फ जाने सवारीसाधनसमेत रोकिएका छन्।
त्यस्तै, भारी वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरोधको जोखिम बढेपछि जिल्लाका ११ वटै स्थानीय तहले विद्यालय बन्द गरेका छन् । विद्यार्थीको आवतजावतमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको हो । मौसमको अवस्था र जोखिमको स्थिति हेरेर यातायात तथा विद्यालय सञ्चालनबारे थप निर्णय गरिने जनाइएको छ । प्रशासनले अत्यावश्यकबाहेक यात्रा नगर्न तथा वर्षाका बेला उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
जिल्ला प्रहरी प्रमुख विकले भन्नुभयो दैलेख जिल्लाका अधिकाँस बस्ती र बजार क्षेत्र नदि किनारमा रहेका कारण उक्त क्षेत्रका बस्तीहरुलाई जोखिमलाई ध्यानमा राखेर बस्न आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो प्रत्येक नदिकिनारमा रहेका बस्तीहरुमा गएर मनसुन बारे जानारी र सुरक्षीत स्थानमा बस्न आग्रह गरिएको छ ।

