Loading... आजः बुधबार, भदौ ३, २०८३
Trending

बाल अधिकार सुदृढीकरणमा स्थानीयको जोड


दैलेख :  स्थानीय तहमा बाल अधिकारको प्रभावकारी कार्यान्वयन र बाल संरक्षण प्रणालीलाई थप सुदृढ बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ । कर्णाली प्रदेशका सुर्खेत, दैलेख र जाजरकोटका बाल कल्याण अधिकारीहरूको क्षमता अभिवृद्धिका लागि आयोजित दुई दिने तालिममा सहभागीहरूले बाल अधिकार संरक्षणका लागि स्थानीय तहबाटै प्रभावकारी पहल र समन्वय आवश्यक रहेको बताएका हुन् ।
बाल अधिकार, बाल संरक्षण तथा सम्बन्धित कानुन, नीति र मापदण्डबारे ज्ञान अभिवृद्धि गर्नुका साथै बाल संरक्षणका घटनाको व्यवस्थापन, समन्वय, सन्दर्भ सेवा र अभिलेखीकरणसम्बन्धी व्यावहारिक सीप विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताइएको छ । स्थानीय तहमा प्रभावकारी बाल संरक्षण प्रणाली निर्माण गर्न बाल कल्याण अधिकारी, स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो । बाल संरक्षणका घटनालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्दै आवश्यक सेवा र सहयोगसम्म बालबालिकाको पहुँच सुनिश्चित गर्न स्थानीय तहको क्षमता बलियो बनाउनुपर्नेमा सहभागीहरूको जोड थियो ।
तालिममार्फत बाल अधिकारसम्बन्धी कानुनी तथा नीतिगत ज्ञानसँगै बाल संरक्षणका घटनामा तत्काल आवश्यक प्रक्रिया अघि बढाउने, सम्बन्धित निकायसँग समन्वय गर्ने र बालबालिकालाई आवश्यक सेवामा सन्दर्भ गर्ने क्षमता विकास गर्ने लक्ष्य राखिएको सिसिआर कर्णालीका कार्यकारी निर्देशक टेकराज आर्चायले जानकारी दिनुभयो ।
उहाँले कार्यक्रममा स्थानीय तहमा बाल संरक्षण प्रणालीलाई प्रभावकारी बनाउन कार्ययोजना तथा समन्वय संयन्त्रलाई थप सुदृढ बनाउनुपर्ने विषयमा समेत छलफल गरिएको बताउनुभयो । उहाँले भन्नुभयो बालबालिकाको अधिकार संरक्षण गर्नु सबैको साझा सरोकारको विषय भएको उक्त कार्यक्रम संचालन गरिएको हो ।