Loading... आजः बिहिबार, भदौ ४, २०८३
Trending

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत


सुर्खेत  :   कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको छ । उहाँको पक्षमा २१ र विपक्षमा १३ मत परेको छ । यस्तै दुई मत तटस्थ रहेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका सांसदले उहाँलाई विश्वासको मत दिएका हुन्। शाहीले सोमबार विश्वासको मत पाउँ भनेर प्रदेश सभा समक्ष पत्र दर्ता गराएउनु भएको थियो । बुधबार उक्त विश्वासको प्रस्तावमाथि छलफल भएको थियो। ४० सदस्यीय प्रदेश सभामा नेकपा एमालेका सभामुखसहित १०, नेपाली कम्युनिस्ट पार्टीका १४, कांग्रेसको १५, राप्रपाको १ जना सांसद रहनुभएको छ ।

नेपाली कांग्रेसले विपक्षमा मतदान गरेको थियो । मतदानमा ३६ जना सांसद सहभागी थिए। जसमध्ये कांग्रेसका राजीवविक्रम शाह, जानकी सिंह र एमालेका विनोदकुमार शाह संसद्‌मा सहभागी हुनुभएको थिएन । बिनोदकुमार शाह बिरामी भएर उपस्थित हुन नसकेको कुरा दल नेता यामलाल कँडेलले संसद्‌बाट नै जानकारी गराउनुभएको थियो ।
तटस्थ रहनेमा पूर्वमुख्यमन्त्री राजकुमार शर्मा र राप्रपाकी सांसद सन्तोषी शाही रहनुभएको छ । साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहीले २३ दिनपछि संसद्‌बाट विश्वासको मत लिनुभएको हो ।