अलपत्र सडकले पालिकामा पुग्नै सकस

कमल शर्मा
दैलेख : निर्माण व्यवसायीको ढिलासुस्तीका कारण दैलेखको महावु र नौमुले गाउँपालिकाको केन्द्रमा पुग्ने सडक निर्माण अलपत्र पर्दा वर्षायाममा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । पटक पटक म्याद थप गर्दा समेत
निर्माण कार्यले गति लिन नसक्दा पालिकाको केन्द्रसम्म पुग्ने यात्रा जोखिमपूर्ण र कष्टकर बनेको हो । कर्णाली प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय दैलेखमार्फत सञ्चालित ताराघाट–खरिगैरा–रानीवन–कासिकाँध सडक आयोजनामा २०७९ साउन ९ गते पन्त–आकृति जेभी, गुल्मीले २०८२ भदौ ८ गतेभित्र पहिलो चरणमा ६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी १६ करोड १४ लाख ८८ हजार ९८४ रुपैयाँ ९९ पैसामा ठेक्का सम्झौता गरेको थियो। तर हालसम्म उक्त आयोजनाको भौतिक प्रगति ४० प्रतिशत मात्रै पुगेको पूर्वाधार विकास कार्यालय दैलेखले जनाएको छ ।
पूर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख ई. प्रविण कार्कीले सडक निर्माणमा भएको ढिलासुस्तीबारे स्थलगत अनुगमन गरी निर्माण कम्पनीलाई पटक–पटक काम तीव्र बनाउन निर्देशन दिइएको बताउनुभयो । उहाँले काम समयमै सक्न ताकेता गरेपनि निर्माण कम्पनीले बाहना बनाएर प्रत्येक बर्ष बजेट फ्रिज जाने समस्या रहेको बताउनुभयो ।
महावु गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष प्रकाश थापाले स्थानीयको कुनै अवरोध नभए पनि निर्माण व्यवसायीको लापरबाहीका कारण सडक निर्माणले गति लिन नसकेको बताउनुभयो । उहाँले ताराघाटखोला देखी वडाखोलाको भाग सम्म ग्राभेल गरेपनि त्यस भन्दा माथी कुनै काम नभएको बताउनुभयो । उहाँले भन्नुभयो अहिले पालिकामा जाँदा फोरबील गाडी नभए हिड्न नसक्ने अबस्था छ ।
यता दैलेख बजारदेखि नौमुले गाउँपालिकासम्मको १३ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा बिरुवा सिद्धान्त सिगेश्वर जेभीले २०७८ साउन २७ गते १९ करोड ९४ लाख १७ हजार रुपैयाँमा लिएको थियो। तीन वर्षमा सम्पन्न गर्नुपर्ने काम सम्पन्न नभएपछि २०८२ वैशाख २५ गतेसम्म म्याद थप गरिए पनि हालसम्म करिब ४५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक निर्माण अलपत्र पर्दा वर्षायाममा नौमुले गाउँपालिकाका नागरिकले सास्ती खेप्दै आएका छन् । नौमुले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले निर्माण कम्पनीले सम्झौताअनुसार काम नगर्दा नागरिकले दुःख पाएको र स्थानीय सरकारसमेत आलोचनाको पात्र बनेको बताउनुभयो । उहाँले पूर्वाधार विकास कार्यालय दैलेख तथा कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पटक–पटक निर्माण कार्य अघि बढाउन आग्रह गरे पनि प्रभावकारी सुनुवाइ नभएको गुनासो गर्नुभयो ।
यसैबीच, नेपालगञ्ज–सुर्खेत–दैलेख–महावु–कालिकोट–जुम्ला–हुम्ला–डोल्पा हुँदै चीनको नाग्चेनाम्लासम्म जोड्ने प्रस्तावित त्रिदेशीय सडकअन्तर्गत दैलेख सदरमुकामदेखि महावुगाथ सम्म सडक स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय सुर्खेतले सात वटा ठेक्कामार्फत निर्माण कार्य अघि बढाएको थियो । खुर्सानीबारी–भैसेखोर खण्डमा कालोपत्रे सम्पन्न भए पनि भवानीगेट–ओखरवास हुँदै उनीपाटा–महावुसम्मका अधिकांश खण्डको निर्माणले गति लिन सकेको छैन । यसका कारण दैलेख बजार बाट देसीगाड हुँदै महावु पुग्ने वैकल्पिक सडकसमेत पूर्ण रूपमा सञ्चालनयोग्य बन्न नसक्दा वर्षायाममा महावु गाउँपालिकाका नागरिक र यात्रुले सास्ती खेप्नुपरेको स्थानीयले बताएका छन ।
महावु र नौमुले गाउँपालिकातर्फ जाने सडकका विभिन्न ठेक्का अलपत्र पर्दा वर्षायाममा बिरामी अस्पताल पु¥याउन, विद्यार्थी विद्यालय पुग्न, दैनिक उपभोग्य सामग्री ढुवानी गर्न तथा सर्वसाधारणलाई आवतजावत गर्न कठिन भएको स्थानीयको गुनासो छ। नौमुले गाउँपालिकाका चक्र बहादुर हमालले जिल्लाका राजनितिक पार्टी संघिय सांसद प्रदेश सांसद कुनैले पनि नौमुलेमा आउने सडकका विषयमा कतै नबोलेको आरोप लागनउनुभयो । उहाँले भन्नुभयो हामीलाई अरु केहि दिनु परेन हामीले विकास गर्नुहोल भनेर निर्वाचनमा जिताएर पठाएका छौँ ठेकेदारलाई समयमै काम गर भनेर तोकता मात्र गरिदिए पुग्छ । स्थानीयले ढिलासुस्ती गर्ने निर्माण व्यवसायीमाथि कारबाही गर्दै सडक निर्माण कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।


