Loading... आजः शनिबार, साउन ३०, २०८३
Trending

पानीका दुःखले छुट्टिएको परिवार,फेरि जोड्दै


कमल शर्मा
दैलेख  :   एक दिन बिराएर घरअगाडिको धारामा पानी आउँछ । पानी आउने दिन ८७ वर्षीय बालाराम थापा सानो गाग्री थापेर केहीबेर धाराबाट झरिरहेको पानीलाई टोलाइरहनुहुन्छ । घरमा उहाँका लागि पानी बोकिदिने कोही छैन । बुढेसकालमा एक्लै बस्ने उहाँका लागि यही धारा सबैभन्दा ठूलो सहारा बनेको छ । यही गाउँमा उहाँले एउटा गाग्री पानीका लागि डेढ घण्टासम्म हिँडेको, हिउँदमा रातभर पालो कुरेको र पानीकै अभावले आफ्नै छोराहरू गाउँ छाडेर बसाइँ सरेको समय भोग्नुभएको छ । आज घरअगाडि धारा बगेको देख्दा उहाँलाई लाग्छ– “यो केवल पानी होइन, गाउँमा फेरि पलाएको आशा हो।”
भैरवी गाउँपालिका–१ मा वर्षौँसम्म खानेपानीको चरम अभाव रह्यो। हिउँद लागेपछि गाउँका अधिकांश मुहान सुक्थे । पानीकै दुःखले करिब ६० घरधुरी रहेको बस्तीबाट झन्डै ५० परिवार जलजले र सुर्खेततिर बसाइँ सर्न बाध्य भए । बालाराम थापाका जेठा छोरा सुर्खेत र कान्छा छोरा जलजलेमा बस्न थाले। तर उहाँले भने पुख्र्यौली घर छाड्नुभएन । आँगनमा आफ्नै हातले रोपेका आपसहितका फलफूलका बिरुवा, गाउँको शीतल हावा र जन्मथलोप्रतिको मोहले उहाँलाई गाउँमै रोकेर राख्यो । उहाँले भन्नुभयो, “बरु पानीको दुःख सहेर आफ्नै गाउँमा बसें।”
गाउँलेहरूले खानेपानीको समस्या समाधानका लागि पटक–पटक प्रयास गरे । करोडौँ रुपैयाँ खर्चेर मझुवा खानेपानी आयोजना निर्माण गरियो । ग्रामीण विकास संस्थाले वर्षात्को पानी संकलन गर्न घैँटो निर्माण गरिदियो । तर कुनै पनि प्रयास दीर्घकालीन हुन सकेन । अहिले ती पूर्वाधार जीर्ण बनेका छन यही अवस्थाबीच २०७८ सालदेखि निर्माण सुरु भएको छामघाट–रावतकोट लिफ्टिङ खानेपानी आयोजना अहिले सम्पन्न हुने चरणमा पुगेको छ करिव पाँच करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको आयोजनाले भैरवी गाउँपालिका–१ का करिब पाँच सय घरधुरीमा खानेपानी पु¥याउने लक्ष्य राखेको छ ।
खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका प्रमुख टोपेन्द्रसुन्दर मल्लले गाउँमा खानेपानीको अर्को भरपर्दो विकल्प नभएकाले लिफ्टिङ प्रणालीमार्फत आयोजना निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार अधिकांश घरधुरीमा अहिले नियमित रूपमा खानेपानी पुगेको छ भने केही धारा जडानको काम मात्र बाँकी छ ।
खानेपानी आयोजनामा कार्यरत प्लम्बर नरेन्द्रराज थापाले पानीकै अभावले गाउँ छाडेका परिवार अहिले खेतीपातीका लागि पुख्र्यौली गाउँ फर्किन थालेको बताउनुभयो । “पहिले करिब ६० घरधुरी थिए, अहिले १०–१२ घर मात्र स्थायी रूपमा छन्,” उहाँले भन्नुभयो, “तर पानी आएपछि धेरैजना खेती गर्न गाउँ आउन थालेका छन् ।”यो परिवर्तन बालाराम थापाको परिवारमा पनि देखिन थालेको छ। उहाँका अनुसार पानी आएपछि छोराहरूले गाउँमै राम्रो घर बनानुभएका छ । “अब गाउँमा बस्न सकिन्छ भन्ने विश्वास पलाएको छ,” उहाँले भन्नुभयो ।
छामघाट–रावतकोट लिफ्टिङ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष खकेन्द्रबहादुर थापाले आयोजना सञ्चालनलाई दीर्घकालीन बनाउन प्रत्येक घरधुरीबाट मासिक एक सय रुपैयाँ संकलन गरिएको बताउनुभयो । उहाँका अनुसार पाँच सय घरधुरीबाट संकलित रकम बैंकमा सुरक्षित राखिएको छ, जसबाट मर्मत, सञ्चालन र कर्मचारीको तलब व्यवस्थापन गरिनेछ । तर लिफ्टिङ प्रणालीका उपकरण बिग्रिए महँगो मर्मत गर्नुपर्ने र दक्ष प्राविधिकको अभाव रहेको उहाँको भनाइ छ ।
एक समय पानीको अभावले छुट्टिएको परिवार र रित्तिँदै गएको गाउँमा अहिले फेरि आशा पलाउन थालेको छ । खेतबारीमा हरियाली फर्किँदै छ, पुख्र्यौली घरमा मानिसहरूको आउजाउ बढ्न थालेको छ। तर विगतमा असफल भएका खानेपानी आयोजना र जलवायु परिवर्तनको बढ्दो असरले गाउँलेहरू अझै ढुक्क हुन सकेका छैनन । उनीहरूका लागि घर–घरमा बगेको यो धारा केवल खानेपानीको सुविधा होइन, गाउँको भविष्य टिकाइराख्ने अन्तिम भरोसा पनि हो ।
भैरवी गाउँपालिकाका अध्यक्ष रिता कुमारी शाहीले खानेपानी आयोजना निर्माण भएपछि गाउँका आम महिला दिदिबहिनीलाई अझै राम्रो सुविधा भएको बताउनुभयो । उहाँले महिलाहरुले पानीकै लागी कयौ रात सुत्न पाएन अहिले उनीहरु ढुक्का साथ बस्न सक्ने भएका छन ।