मुख्य अभियुक्त पक्राउ नपर्दा न्याय अधुरो


कमल शर्मा
दैलेख : पत्रकार डेकेन्द्रराजा थापाको हत्याका मुख्य अभियुक्त पक्राउ नपर्दा न्याय अधुरो रहेको बताइएको छ । जिल्ला अदालतले मुख्य अभियुक्त बमबहादुर खड्का ‘मुक्ति’लाई जन्मकैदको सजाय सुनाएको वर्षौँ बितिसक्दा पक्राउ गर्न नसकेपछि पीडित परिवारले अझै न्यायको पूर्ण अनुभूति गर्न नसकेको बताएका छन । बुधवार नेपाल पत्रकार महासंको आयोजना तथा एडभोकेसी फोरम नेपालको सहकार्यमा २२ औँ डेकेन्द्र स्मृति दिवसका अवसरमा आयोजना गरिएको डेकेन्द्र हत्या प्रकरण र न्यायको लडाई विषयक बिचार बिमर्श कार्यक्रममा परिवार, पत्रकार, मानवअधिकारकर्मी तथा नागरिक समाजले अदालतको फैसला कार्यान्वयन गरी मुख्य अभियुक्तलाई पक्राउ गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन । विचार–विमर्श कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले थापाले समाजका लागि पु¥याउनुभएको योगदान सधैँ अनुकरणीय रहने बताउनुभयो । उहाँले डेकेन्द्रको योगदानलाई स्मरण गर्दै उहाँको न्यायको सवाललाई पनि गम्भीरतापूर्वक लिनुपर्ने धारणा राख्नुभयो । उहाँले अदालतबाट सजाय तोकिएको मुख्य अभियुक्तसमेत पक्राउ नपर्नु कानुनी शासन र दण्डहीनताको अन्त्यका लागि चुनौती भएको बताउनुभयो । उहाँले भन्नुभयो पीडित परिवारले न्याय पाएको अनुभूति गर्ने गरी अदालतको फैसला पूर्णरूपमा कार्यान्वयन गर्न सरकार लाग्नुपर्दछ ।
कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री कृष्णकुमार बीसीले आफू पनि द्वन्द्वकालमा विस्थापन र लुटपाटको पीडाबाट गुज्रिएको स्मरण गर्नुभयो । उहाँले द्वन्द्वपीडित परिवारले भोगेको पीडालाई राज्यले गम्भीरतापूर्वक बुझ्नुपर्ने बताउँदै पीडित परिवारलाई संयमित हुन आग्रह गर्नुभयो। पूर्वमन्त्री घनश्याम भण्डारीले द्वन्द्वकालमा माओवादी पक्षबाट आफ्ना बुबाको हत्या भएको दुःखद् घटना स्मरण गर्नुभयो । उहाँले यस्ता स्मृति सभा तथा कार्यक्रमले द्वन्द्वकालीन पुरानो पीडा पुनः बल्झाउने गरेको बताउनुभयो । नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष कमल शर्माले पत्रकार डेकेन्द्र हत्याका मुख्य अभियुक्त प्रक्राउ नगरे सम्म न्यायको लडाई जारी रहने बताउनुभयो । उहाँले राजनितिक संरक्षणमा मुख्यअभियुक्तलाई लुकाउने काम भएको भन्दै तत्काल प्रहरीले पक्राउ गरी पीडीत परिवार र पत्रकार महासंघलाई न्याय दिनुपर्नेमा जोडदिनुभयो ।
बिचार बिर्मश कार्यक्रमको अवसरमा डेकेन्द्रको शव उत्खनन, दाहसंस्कार तथा न्यायिक संघर्षमा सहयोग पु¥याउने नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, राष्ट्रिय मानवअधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम,याताना पीडीत सहायता केन्द्र(सिभिक्ट) शव भएको स्थान पत्ता लगाउने प्रेस चौतारी नेपालका इन्चार्ज समेत रहनुभएका याम प्रसाद शर्मा ,तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई कदरपत्रसहित सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ दैलेखका पूर्व जिल्ला अध्यक्ष पुष्कर थापालाई नगद रु. ५ हजार १ सयसहित ‘डेकेन्द्र स्मृति पुरस्कार’ प्रदान गरिएको छ । उहाँको कार्यकालमा सुरु भएको आन्दोलनको दबाबपछि २०६९ सालमा प्रहरीले डेकेन्द्र हत्या घटनाको अनुसन्धान अघि बढाएको थियो । तत्कालीन प्रहरी प्रमुख शारदा चौधरी, जिल्ला न्यायधिवत्ता डम्बर काफ्ले, तत्कालीन प्रहरी निरीक्षक बिनोद शर्माले गर्नुभएको योगदानको समेत चर्चा गरिएको थियो । कार्यक्रममा डेकेन्द्रकी आमा गंगादेवी थापा र पत्नी लक्ष्मी थापाको समेत उपस्थिति थियो। लामो समयदेखि न्यायको प्रतीक्षामा रहेको परिवारका सदस्यहरूको उपस्थितिले कार्यक्रमलाई भावुक बनाएको थियो । पत्रकार डेकेन्द्रराज थापालाई २०६१ असार १२ गते दैलेखको खानेपानी समस्या समाधानका लागि मुहानतर्फ गएका बेला तत्कालीन विद्रोही माओवादीले अपहरण गरेको थियो। अपहरणको करिब डेढ महिनापछि २०६१ साउन २७ गते द्धारीमा कुटपिट गरी उहाँको हत्या गरिएको थियो । २०६१ साउन ३२ गते तत्कालीन माओवादीले विज्ञप्तिमार्फत हत्याको पुष्टि गरेको थियो ।
२०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा किटानी जाहेरी दर्ता भएको थियो। चौतर्फी दबाबपछि २०६९ माघ ८ गते प्रहरीले अनुसन्धान अघि बढाउँदै आरोपीहरूलाई पक्राउ गर्न सुरु गरेको थियो । २०६९ फागुनमा दैलेख जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी अभियोग दर्ता गरिएको थियो। २०७१ मंसिर २१ गते जिल्ला अदालत दैलेखले पहिलो फैसला गर्दै पक्राउ परेका निरकबहादुर घर्ती, हरिनाल पुन र जयबहादुर शाहीलाई दुई–दुई वर्ष, लक्षिराम घर्तीमगरलाई एक वर्ष छ महिना र वीरबहादुर केसीलाई एक वर्ष कैद सजाय सुनाएको थियो। २०७८ मंसिर २६ गते मुख्य आरोपी बमबहादुर खड्कालगायत अन्य अभियुक्तहरूलाई कैद सजाय तोक्दै अदालतले अन्तिम फैसला गरेको थियो। तर अन्तिम फैसला भएको वर्षौँ बितिसक्दा पनि मुख्य अभियुक्त पक्राउ नपरेपछि डेकेन्द्रका परिवार तथा सञ्चारकर्मीहरूले फैसला पूर्णरूपमा कार्यान्वयन गर्न पुनः जोड दिएका छन्। त्यसपछि परिवार, पत्रकार तथा मानवअधिकारकर्मीहरूले ‘किलास देऊ कि सास देऊ’ अभियान सञ्चालन गर्दै निरन्तर आन्दोलन गरेका थिए। २०६५ साउन १६ गते नागरिक समाज तथा मानवअधिकारवादी संस्थाको सहयोगमा विशेषज्ञ टोलीले जंगलमा गाडिएको अवस्थामा कंकाल फेला पारेको थियो। परीक्षणबाट उक्त कंकाल डेकेन्द्रकै भएको पुष्टि भएपछि सोही दिन धार्मिक परम्पराअनुसार दाहसंस्कार गरिएको थियो ।

