Loading... आजः शुक्रबार, साउन १५, २०८३
Trending

देशवासीका नाममा प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन


काठमाडौँ  :   प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा भएका घटनामा दुःख व्यक्त गर्दै केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ ।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उक्त दुःखद् घटनामा परी निधन हुनुभएका नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

“म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु”, उहाँले भन्नुभयो, “देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद् घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन सक्दैन ।” उहाँले नेपालको संविधानले प्रत्येक नागरिकलाई आ–आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको उल्लेख गर्दै संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री शाहले घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरुलाई स्पष्ट निर्देशन दिइसकिएको बताउनुभएको छ ।

घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति–सुरक्षा कायम गर्ने प्रयास निरन्तर भइरहेको उहाँको भनाइ छ ।

“घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ, म सबैमा विश्वास दिलाउन चाहन्छु, यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ । घटनामा संलग्न दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ”, प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री शाहले अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीयस्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील रहेको समेत स्पष्ट पार्नुभएको छ ।

परिस्थिति सामान्यीकरण गर्न केन्द्रस्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको र स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

“स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति–सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं, सुरक्षा निकायका उच्च अधिकारीहरूसहित घटनास्थलतर्फ प्रस्थान गरिसक्नु भएको छ”, उहाँले भन्नुभयो, “देशको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको छ ।”