पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो


कालीकोट : बुधबार बिहानबाट अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । राजमार्ग अन्तर्गत कालीकोट जिल्लाको सेरावाडा क्षेत्रमा बुधवार बिहान गएको पहिरो पन्छाएपछि आजबाट राजमार्ग सञ्चालनमा आएको हो । पहिरोका कारण सडक अवरुद्ध हुँदा सयौँ यात्रुबीच बाटोमै अलपत्र परेका थिए ।
पहिरोका कारण सवारी साधन आवतजावत पूर्ण रूपमा रोकिएपछि मुगु, जुम्ला, कालीकोट तथा सुर्खेततर्फ आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको थियो । सडक डिभिजन कार्यालय जुम्लाको टोलीले तत्काल पहिरो पन्छाउने कार्य सम्पन्न गरेपछि बिहानैदे्खि कर्णाली राजमार्गमा सवारी आवागमन पुनः सञ्चालनमा आएका छन् ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराका अनुसार पहिरो हटाइएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको र यातायात सेवा पुनः सुचारु भएका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डि एस पि हिम वहादुर खत्रीले वर्षायाममा थप पहिरो खस्न सक्ने सम्भावना रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन सबै यात्रुलाई आग्रह गर्नुभयो ।

