डुगेश्वरमा सार्वजनिक सुनुवाइ सम्पन्न, ६ बुँदे प्रतिबद्धता सार्वजनिक

दैलेख : डुगेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक अवधिमा गाउँपालिका तथा विषयगत कार्यालयबाट प्रवाह भएका विकास निर्माण तथा सेवा–सुविधाको प्रभावकारितासम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा उठेका जिज्ञासा, गुनासा तथा सुझावका आधारमा गाउँपालिकाले ६ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ ।
सार्वजनिक सुनुवाइमा प्रमुख जवाफदेहीका रूपमा गाउँपालिका अध्यक्ष सुन्दर कुमार केसीले नागरिकका प्रश्नको जवाफ दिँदै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सार्वजनिक गरिएको प्रतिबद्धताअनुसार शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय समायोजन तथा दरबन्दी मिलानको कार्य स्थानीय शिक्षा नीतिअनुसार सरोकारवाला निकायसँग समन्वय गरी अघि बढाइने छ। गाउँपालिकाबाट प्रवाह हुने सेवा–सुविधालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि गरिएको छ।
त्यस्तै, गाउँपालिकाभित्रका विद्यालयमा माध्यमिक तह ९कक्षा ९–१२० मा विज्ञान विषयको अध्ययन–अध्यापन नहुँदा विद्यार्थी बाहिर जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षदेखि विज्ञान विषय सञ्चालनका लागि आवश्यक पहल गरिने जनाइएको छ। सार्वजनिक सुनुवाइमा नागरिकको सहभागिता अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि गाउँपालिकाले जनाएको छ।
यसैगरी, गाउँपालिकाले रारा हाइड्रो पावरमा लगानी गरी खरिद गरेको २५ लाख रुपैयाँ बराबरको शेयर कम्पनी लिलामपछि के अवस्थामा छ भन्ने विषयमा आवश्यक खोजी गरी उक्त लगानी फिर्ता ल्याउन पहल गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरेको छ।
कार्यक्रममा सहभागी नागरिकहरूले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न प्रश्न र सुझाव राखेका थिए भने गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले त्यसको जवाफ दिदै सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउने बताएका थिए । सार्वजनिक सुनूवाई कार्यक्रमको सहजीकरण के.ए.मल्टिमिडिया प्रा.ली सुर्खेतले गरेको थियो ।


