Loading... आजः मङ्लबार, साउन ५, २०८३
Trending

उत्कृष्ट वन उपभोक्ता समूह पुरस्कृत


दैलेख  :  डिभिजन वन कार्यालय दैलेखले वन व्यवस्थापन, संरक्षण तथा संस्थागत सुशासनमा उत्कृष्ट कार्य गर्ने सामुदायिक वन तथा कबुलियती वन उपभोक्ता समूहलाई पुरस्कृत गरेको छ । जिल्ला वन समन्वय समितिको बैठक तथा आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रमका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने सामुदायिक वन तथा कबुलियती वन उपभोक्ता समूहलाई नगदसहित सम्मान गरिएको हो ।
जिल्ला वन समन्वय समितिको बैठकबाट छनोट भएका सामुदायिक वन उपभोक्ता समूहमध्ये नारायण नगरपालिका–२, जाहरकोटस्थित माल्ली सामुदायिक वन उपभोक्ता समूह प्रथम, गुराँस गाउँपालिका–५ स्थित सल्लाघारी सामुदायिक वन उपभोक्ता समूह द्वितीय तथा आठबिस नगरपालिका–६ स्थित सानखेत–गोगनपानी सामुदायिक वन उपभोक्ता समूह तृतीय भएका छन्। त्यसैगरी, दुल्लु नगरपालिका–६ स्थित देवथली–बल्लेपाटा कबुलियती वन उपभोक्ता समूह कबुलियती वनतर्फ पुरस्कृत भएको डिभिजन वन कार्यालयले जनाएको छ। प्रथम, द्वितीय र तृतीय हुने सामुदायिक वन उपभोक्ता समूहलाई क्रमशः १५ हजार, १२ हजार र नौ हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।
डिभिजन वन कार्यालय दैलेखका डिभिजनल वन अधिकृत अमरबहादुर शाहले उत्कृष्ट सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूह छनोटका लागि ६० पूर्णाङ्कको मूल्याङ्कन प्रणाली निर्धारण गरिएको बताउनुभयो। उहाँका अनुसार नियमित भेला तथा बैठक, नियमित लेखापरीक्षण, वन संरक्षण, संवद्र्धन तथा सदुपयोगको अवस्था, कार्ययोजना नवीकरण, अतिक्रमण नियन्त्रण र स्थायी लेखा नम्बर (प्यान) प्राप्त गरेका उपभोक्ता समूहलाई मूल्याङ्कनका आधारमा छनोट गरी पुरस्कृत गरिएको हो ।
कार्यालयका अनुसार जिल्लामा चार सय सामुदायिक वन, ६६ कबुलियती वन, दुई धार्मिक वन र एक निजी वन रहेका छन्। आर्थिक वर्ष २०८२÷८३ मा वन्यजन्तुको आक्रमणबाट मानव, पशुधन तथा बालीमा पुगेको क्षतिबापत २२ लाख ८४ हजार रुपैयाँ राहत वितरण गरिएको छ। यस अवधिमा बदेलको आक्रमणबाट दुई जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख एवं जिल्ला वन समन्वय समितिका संयोजक नमराज शाहीले सामुदायिक वन उपभोक्ता समूहलाई वनको जगेर्ना र दिगो व्यवस्थापनमा अझ सक्रिय हुन आग्रह गर्नुभयो। उहाँले सामुदायिक वनको संरक्षण र हेरचाह गर्ने प्रमुख जिम्मेवारी उपभोक्ता समूहकै भएकाले कार्ययोजनाअनुसार वन संरक्षण र संवद्र्धनका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो। उहाँले सामुदायिक वन संरक्षणका मात्र नभई स्थानीय आयआर्जन, जैविक विविधता संरक्षण, जलाधार संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्ने महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो ।
उत्कृष्ट बन उपभोक्ता समुहलाई पुस्रकृत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी आनन्द सारुले सामुदायिक बन बाट चोरी निकासी हुने कुरा नियन्त्रण गर्न उपभोक्ता समुहले सक्रिय भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले विभिन्न खोटो संकलन गर्ने कम्पनीले खोटो संकलन गर्दा सामुदायिक बन उपभोक्ता समुह संग परामर्श गरेर मात्र खोटो संकलन गर्ने कार्य गर्नुपर्ने बताउनुभयो ।