Loading... आजः मङ्लबार, साउन ५, २०८३
Trending

दैलेखमा १६ आपराधिक मुद्दा दर्ता, पाँच जनाले गरे आत्महत्या

दैलेख  :   जिल्ला प्रहरी कार्यालय दैलेखमा असार महिनाभर १६ वटा विभिन्न प्रकृतिका आपराधिक मुद्दा दर्ता भएका छन्। सार्वजनिक अपराधका दुई, गम्भीर अपराधका दुई र सामान्य अपराधका तीन मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको असार महिनाको मासिक प्रगति विवरणअनुसार यस अवधिमा कर्तव्य ज्यानका आठ, भवितव्य ज्यानका तीन, सवारी भवितव्यका दुई र विष सेवनका दुई गरी दुई वर्षभन्दा पुराना छ वटा मुद्दा पनि दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले फरार रहेका आठ प्रतिवादी पक्राउ परेको तथा फैसला कार्यान्वयनअन्तर्गत छ लाख १२ हजार रुपैयाँ जरिवाना असुली हुनुका साथै १२ वर्ष ११ महिना आठ दिन कैद सजाय कार्यान्वयन गरिएको जानकारी दिनुभयो।

प्रहरीका अनुसार असार महिनामा घरेलु हिंसासम्बन्धी १७ र सामाजिक हिंसासम्बन्धी २४ गरी ४१ वटा उजुरी दर्ता भएका छन्। सोही अवधिमा पाँच जनाले आत्महत्या गरेका छन् भने सात जनाले आत्महत्याको प्रयास गरेका छन्। आत्महत्याका घटनामध्ये चार जनाले झुन्डिएर र एक जनाले विषादी सेवन गरी ज्यान गुमाएका छन्। आत्महत्याको प्रयास गर्नेमा एक जनाले झुन्डिन खोजेका तथा छ जनाले विषादी सेवन गरेका थिए।

असार महिनामा जिल्लामा पाँच वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा चार जनाको मृत्यु, चार जना घाइते र सात जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो। उहाँका अनुसार साँघुरा तथा जीर्ण सडक, तीव्र गति र ओभरटेकका कारण अधिकांश दुर्घटना भएका हुन्।

यस अवधिमा ट्राफिक कारबाहीबाट चार लाख ४४ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ। विपद्का पाँच घटनामा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् भने आगलागी, अतिवृष्टि र चट्याङका घटनाबाट करिब छ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको डीएसपी विकले बताउनुभयो।