पाँच यात्रुको अवस्था अज्ञात, खोजीमा गोताखोर र ड्रोन परिचालन


कमल शर्मा
दैलेख : सुर्खेतबाट कालिकोट जिल्लाको रास्कोट नगरपालिका तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा क्षेत्रमा कर्णाली राजमार्गबाट करिब पाँच सय मिटर तल कर्णाली नदीमा खसेको दोस्रो दिन बितिसक्दा पनि गाडी फेला पर्न सकेको छैन । गाडीसँगै बेपत्ता भएका यात्रुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र स्थानीयवासीले संयुक्त रूपमा खोजी कार्यलाई निरन्तरता दिएका छन् ।
गाडीमा सवार सुर्खेत पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुबेदी र रामप्रसाद सुबेदी, कालिकोट रास्कोट नगरपालिका–२ की सिर्जना खड्का तथा कालिकोट पचालझरना गाउँपालिकाका मेगे तिरुवा र जोखे तिरुवा सवार रहेको खुलेको छ । उनीहरूमध्ये जोखे तिरुवाको शव घटनाको दिन नै फेला परेको थियो भने अन्य चार जनाको अवस्था अझै अज्ञात छ । गाडीमा उनीहरूबाहेक अन्य यात्रुसमेत सवार रहेको हुन सक्ने आशंका गरिए पनि त्यसको आधिकारिक पुष्टि हुन सकेको छैन ।
इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक सरोज कडेलको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले दुर्घटनास्थल तथा कर्णाली नदीमा खोजी कार्य सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । सशस्त्र प्रहरी बलका छ जना गोताखोर नदीभित्र गाडी र बेपत्ता यात्रुको खोजीमा खटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले पनि कर्णाली नदीको बहावअनुसार गाडी वा यात्रु बगेर पुग्न सक्ने सम्भावित स्थानहरूमा खोजी कार्यलाई निरन्तरता दिएको छ । नदीको तीव्र बहाव, गहिराइ र धमिलो पानीका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको सुरक्षाकर्मीले बताएका छन् ।
दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बिहान ७ बजेदेखि सुरक्षाकर्मीले निरन्तर खोजी गरे पनि बेलुका ४ बजेसम्म गाडी र बेपत्ता यात्रुको कुनै अवस्था पत्ता लाग्न नसकेको बताउनुभयो । उहाँका अनुसार कर्णाली नदीका सम्भावित सबै क्षेत्रमा खोजी गर्न नेपाली सेनाले ड्रोन परिचालन गरेको छ । खोजी कार्यलाई थप प्रभावकारी बनाउन अतिरिक्त ड्रोन उपलब्ध गराइदिन गृह मन्त्रालयमा समेत अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी सारुले बेपत्ता गाडी र यात्रुको खोजीका लागि उपलब्ध सबै जनशक्ति, गोताखोर, ड्रोन तथा अन्य आवश्यक स्रोत–साधन परिचालन गरिएको बताउँदै खोजी कार्यलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले भन्नुभयो गाडी खसेकै ठाउँमा कर्णाली नदिको बहावले त्यहा नजिक जान सकिने अबस्था छैन दैलेख खण्डमा बाट जान नसकेपछि अक्षाम जिल्लाको खण्ड बाट प्रयास गरेपनि बहावले त्यहा नजिक जानै नसक्ने अबस्थाले खोजी कार्यमा चुनौती देखिएको छ । समाचार तयार पार्दासम्म गाडी र बेपत्ता यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन। गाडी दुर्घटनामा परी मृत्यु हुनुभएका कालिकोट पाचलझरना गाउँपालिका वडा न ८ का जोखे तिरुवाको भने शव दुल्लु अस्पतालमा रहेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिकेश गौतमका अनुसार दुर्घटनामा परेको फोर्स गाडी बुलबुले यातायात प्रालिको रहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार गाडी अनियन्त्रित भई कर्णाली राजमार्गबाट करिब पाँच सय मिटर तल कर्णाली नदीमा खसेको हो । दुर्घटनाको कारण भने अझै खुल्न नसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार दुर्घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब तीन किलोमिटर उत्तरतर्फ तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्दछ । बेपत्ता गाडी र यात्रुको खोजी कार्यसँगै दुर्घटनाको कारणबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

