६ बुँदे सहमतिसँगै बजेट सर्वसम्मत पारित


सुर्खेत : कर्णालीमा ६ बुँदे लिखित सहमतिसँगै कर्णाली प्रदेश सभाको गतिरोध अन्त्य भएको छ । आगामी आर्थिक वर्ष २०८३÷८४को बजेटलाई लिएर प्रतिपक्षी दलहरूले मंगलबारदेखि अवरुद्ध गरेको कर्णाली प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका थिए । बिहीबार संसद्मा धकेलाधकेलकै अवस्था आएको थियो । शुक्रबार भएको कार्यव्यवस्था समितिको बैठकमा ६ बुँदे लिखित सहमतिसँगै संसद्को गतिरोध अन्त्य भएको छ ।
सहमतिपत्र अनुसार, कार्यविभाजन नियमावली विपरीत प्रस्तावित आयोजनाहरू कार्यान्वयन नगरिने सहमति भएको छ । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले नसमेटिदिएको भन्दै आफ्नै मन्त्रालयबाट आफ्नो निर्वाचन क्षेत्र दैलेखका दुल्लू र भैरवीमा नागरिक सुरक्षित आवास कार्यक्रम भनेर ५ करोड रकम छुट्याएका थिए ।यो कार्यक्रममाथि व्यापक प्रश्न उठेपछि यसअघि मुख्यमन्त्री यामलाल कँडेल आफैले पनि संसद्बाट नै कार्य विभाजन नियमावली विपरीतका कुनै पनि योजना का र्यान्वयन नहुने बताएका थिए ।
लिखित सहमतिसँगै सभाको गतिरोध अन्त्य भए पछि कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक बर्ष २०८३÷०८४ को बजेट प्रदेश सभा बाट सर्बसम्मत पारित समेत भएको छ ।

