Loading... आजः आइतवार, असार २१, २०८३
Trending

पासपोर्ट थन्क्याएर गाउँ फर्किएका युवा बने राष्ट्रिय उत्कृष्ट कृषक


कमल शर्मा
दैलेख :  घरको कुनामा अझै कतै थन्किएको हुन सक्छ—सन्तोष दर्लामी मगरको त्यो पासपोर्ट । एक समय त्यही पासपोर्टले उहाँको भविष्य बोकेको जस्तो लाग्थ्यो । गाउँका धेरै युवाजस्तै उहाँ पनि वैदेशिक रोजगारीको सपना देखिरहनुभएको थियो । राम्रो कमाइ गर्ने, परिवारको अवस्था सुधार्ने र जीवन सहज बनाउने आशामा उहाँले काठमाडौं पुगेर होटल व्यवस्थापन सम्बन्धी छ महिनाको तालिम लिनुभयो । केही समय काम पनि काम पनि सिक्नुभयो । तर विदेश जाने अन्तिम तयारी चलिरहेका बेला एक आफन्तले सुनाएको अनुभवले उहाँको सोच बदलिदियो । “एउटा काम भनेर विदेश पठाउँछन्, पुगेपछि अर्कै काम गर्न लगाउँछन्,” भन्ने कुराले उहाँलाई गहिरो रूपमा छोयो । त्यही अनुभवपछि उनले वैदेशिक रोजगारीको बाटो छाड्ने निर्णय गर्नुभयो । केही समय भारतको हिमाञ्चल प्रदेशसम्म पुगे पनि अन्ततः उहाँको मन विदेशमा टिकेन । उहाँ गाउँ फर्किएर आफ्नै माटोमा भविष्य खोज्ने निर्णय गर्नुभयो ।
त्यही निर्णयले आज उहाँलाई राष्ट्रिय स्तरको सम्मान दिलाएको छ । भुमी व्यवस्था कृषि तथा सहकारी तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको सिफारिसमा संघिय सरकारको कृषि बन तथा पर्यावरण मन्त्रालयले देशभर बाट राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार छनोट गरी गणतन्त्र दिवस २०८३ को अवसरमा प्रदान गरेको छ । उहाँले दुई लाख रुपैयाँ नगद र सम्मानपत्र प्राप्त गर्नुभयो ।
सन्तोष चार वर्षका हुँदा उहाँका बुवा धनबहादुर दर्लामी मगरको निधन भयो । त्यसपछि परिवारको जिम्मेवारी हजुरबुवा चेन दर्लामी मगरले सम्हान्नु भयो । हजुरबुवाले सुरु गरेको बाख्रापालन व्यवसाय नै परिवारको मुख्य आधार बन्यो । सोही व्यवसायबाट भएको आम्दानीले कालिकाको काँगे बजारमा घडेरी खरिद गर्ने अवस्था समेत बन्यो ।
हजुरबुवाको संघर्ष र व्यवसायबाट प्रेरित भएर सन्तोषले २०७५ सालमा १६ लाख रुपैयाँ लगानी गरी बाख्रापालनलाई व्यावसायिक उद्योगका रूपमा विस्तार गर्नुभयो । अहिले उहाँको फार्ममा ११० भन्दा बढी बाख्रा छन् । बाख्रापालनसँगै पाँच रोपनीमा केराखेती, तीन रोपनीमा अलैँची र दुई रोपनीमा सुन्तला खेतीसमेत गरिएको छ । यसबाट वार्षिक सातदेखि आठ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।
व्यवसाय सञ्चालन परिवारकै श्रममा आधारित छ । कामदार राख्ने प्रयास भए पनि बाख्रापालन क्षेत्रमा लामो समय काम गर्न इच्छुक जनशक्ति पाउन कठिन हुने गरेको सन्तोषले बताउनुभयो । चालु आर्थिक वर्षमा बाख्रा खोर सुधार कार्यक्रमअन्तर्गत चार लाख रुपैयाँ सरकारी अनुदान प्राप्त भएको छ भने थप चार लाख रुपैयाँ आफ्नै लगानीमा संरचना विस्तार गरिएको छ। अव फर्ममा ब्यक्तिगत लगानी २५ लाख भन्दा बढि हुनेछ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका पशु विकास अधिकृत भिम बहादुर बिष्टले पशु अस्पताल तथा पुश सेवा कार्यालय दैलेखको ५० प्रतिशत अुनदानमा अहिले पनि खोर सुधारका लागी चार लाख रुपियाँ प्रदान गरेको बताउनुभयो । उहाँले सन्तोष जिल्लामै सफल व्यावसायिक बाख्रापालक कृषकका रूपमा स्थापित भएको बताउँदै युवाहरुलाई नेपालमै केही गर्नुपर्छ भन्ने प्रेरणा समेत दिएको बतानुभयो ।
नौमुले गाउँपालिकाका पशु शाखा प्रमुख डा. सुदीप चौधरीका अनुसार सन्तोषले बाख्रापालनसँगै बहुखेती प्रणाली अपनाएर नमुना कृषि उद्यम विकास गरेको बताउनुभयो । उहाँँले बाख्रामा कुनै समस्या देखिएको खण्डमा सन्तोषलाई प्राविधिक सल्लाह दिने गरेका छौँ । पुरस्कार प्राप्त गरेपछि सन्तोषले आफूले कहिल्यै यस्तो सम्मान पाउँछु भन्ने अपेक्षा नगरेको बताउनुभयो । “दुर्गम गाउँका किसानले राष्ट्रिय पुरस्कार पाउँछन् भन्ने लागेको थिएन,” उहाँले भन्नुभयो , “प्रक्रिया पूरा गरौं भनेर फारम भरेको थिएँ, नाम छनोट भएको खबर सुन्दा म आफैं झसङ्ग परें।” उहाँका अनुसार मेहनत गरेपछि दुर्गम र सुगम भन्ने फरक नहुने रहेछ, कामको मूल्याङ्कन हुँदो रहेछ। अब व्यवसायलाई अझ आधुनिक र व्यवस्थित बनाउँदै लैजाने उनको योजना छ ।