कर्णालीमा खसेको फोर्स गाडीमा पाँच जना सवार रहेको प्रारम्भिक निष्कर्ष


दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गअन्तर्गत साङ्गतडा क्षेत्रमा कर्णाली नदीमा खसेको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार असार १८ गते बिहान सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब पाँच सय मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीयवासीको संयुक्त टोली उद्धार तथा खोजी कार्यमा परिचालन भएको थियो
प्रहरीका अनुसार कर्णाली नदीको तीव्र बहावलाई दृष्टिगत गर्दै सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत समन्वयात्मक रूपमा खोजी कार्यलाई निरन्तरता दिइएको छ । घटनास्थलबाट प्राप्त मोबाइल, प्रारम्भिक सोधपुछ तथा आफन्तबाट प्राप्त विवरणका आधारमा गाडीमा चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, सिर्जना खड्का, मेखे मिरुवा र जेखे तिरुवा सवार रहेको खुलेको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका जेखे तिरुवाको शव आफन्तले सनाखत गरिसकेको र आवश्यक कानुनी प्रक्रिया तथा शव परीक्षण सम्पन्न भएपछि परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । अन्य चार जनाको अवस्था खुल्न नसकेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
गाडीमा थप यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरी यथार्थ विवरण संकलन तथा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले घटनास्थल, सम्भावित स्थान, नदी किनार तथा अन्य जिल्लाका नदी तटीय क्षेत्रमा समेत खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तर सञ् चालन गरिरहेको प्रहरीले जनाएको छ ।

