Loading... आजः सोमवार, असार १५, २०८३
Trending

कुप्रथाविरुद्ध जाग्दै किशोरी


दैलेख :  समाजमा वर्षौंदेखि जरा गाडेर बसेका छाउपडी प्रथा, बालविवाह र लैङ्गिक हिंसाजस्ता कुप्रथाविरुद्ध दैलेखका किशोरीहरू संगठित रूपमा जाग्न थालेका छन् । घर देखि विद्यालय सम्म मात्र सीमित रहने किशोरीहरू अहिले गाउँ–टोलमै पुगेर बालविवाह रोक्ने, छाउपडी अन्त्य गर्ने र लैङ्गिक हिंसाविरुद्ध सचेतना फैलाउने अभियानमा सक्रिय भएका छन् ।
नारायण नगरपालिकाका विभिन्न वडाका किशोरीहरूले समुदायमा देखिएका सामाजिक विकृतिविरुद्ध खुलेर आवाज उठाउन थालेपछि समदायमा लैगिक हिंसा र छाउँपडि प्रथाका विषयमा सकारात्मक परिवर्तनको संकेत देखिन थालेको छ । किशोरीहरूले आफ्नै टोलमा हुने बालविवाह रोक्नेदेखि छाउगोठमा बस्ने महिलाहरूलाई घरभित्र बस्न प्रेरित गर्ने कामसमेत गरिरहेका छन् ।
नारायण नगरपालिका–६ की कविता भुर्तेल आफ्नो समुदायमा बालविवाह न्यूनीकरण हुनुको सट्टा झनै बढ्न थालेपछि त्यसलाई रोक्न अभियान सुरु गरेको बताउनुभयो । उहाँले विशेषगरी दलित समुदायमा कम उमेरमै विवाह गर्ने चलन अझै कायम रहेकाले त्यसविरुद्ध आफू र साथीहरू सक्रिय बनेको बताउनुभयो । “हामी आफैं सचेत भएपछि समुदायका अन्य किशोरी र अभिभावकलाई पनि सम्झाउन थालेका छौं । बालविवाहले किशोरीको शिक्षा, स्वास्थ्य र भविष्य नै जोखिममा पार्छ भन्ने कुरा अहिले धेरैले बुझ्न थालेका छन्,” उहाँले भन्नुभयो ।
सशक्तमहिला समृद्ध नेपालअभियानमार्फत अवाज सस्था द्धारा संचालीत सकरात्मक लैगिक मापदण्डको प्रर्वद्धन लैगिक हिंसा रोकथाम र सेवाहरुमा पहुच अभिबृद्धि परियोजना अन्र्तगत किशारीहरुलाई रूपान्तरण कक्षा दिएपछि किशोरीहरू सामाजिक अभियानमा जोडिएका हुन् ।
आवाज संस्थाकी सामाजिक परिचालक सम्झना कुमारी केसीका अनुसार नारायण नगरपालिकाका चार वटा वडामा यो परियोजना सञ्चालन भइरहेको छ। रूपान्तरण कक्षामा किशोरीहरूलाई बालअधिकार, लैङ्गिक समानता, बालविवाहको असर, छाउपडी प्रथा, हिंसा तथा नेतृत्व विकासका विषयमा प्रशिक्षण प्रदान गरिएको छ। उहाँले भन्नुभउो रूपान्तरण कक्षाबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै किशोरीहरूले समुदायमै परिवर्तन ल्याउन खोज्नुभएको छ । “पहिले छाउपडीलाई परम्परा मानेर महिलाहरू गोठमा बस्ने गर्थे । अहिले किशोरीहरूले घर–घरमा पुगेर यसका असरबारे बुझाउन थालेपछि कतिपय परिवारको सोच परिवर्तन भएको छ,” उहाँको भनाइछ ।
नारायण नगरपालिका–१० की किशोरी कल्पना तिवारीले रूपान्तरण कक्षापछि आफूहरूमा आत्मविश्वास बढेको बताउनुभयो । समुदायमा हुने विभिन्न प्रकारका हिंसाबारे आमा, दिदीबहिनी तथा अन्य किशोरीलाई सचेत गराउने अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको सहयोगमा विभिन्न समुदायमा सचेतनामूलक सडक नाटक, अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । किशोरीहरुले १६ वटा बालविवाह हुन बाट रोकेको र छ वटा छाउँगोठमा बस्ने महिलाहरुलाई सुरक्षीत घरमा राखिएको जनाइएको छ ।
नारायण नगरपालिकाका चार वडाका २५० किशोरी रूपान्तरण कक्षामा सहभागी भएका छन्। साथै विद्यालय उमेरमै पढाइ छाडेका किशोरीहरूलाई पुनः आत्मनिर्भर बनाउन नगरपालिकाले ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रममार्फत प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले आयआर्जनका कार्यक्रमसँग जोडेको छ । हालसम्म २५ जना किशोरीले उक्त सहयोग प्राप्त गरी विभिन्न साना व्यवसाय तथा उद्यममा संलग्न हुन थालेका छन्।