Loading... आजः बिहिबार, असार १८, २०८३
Trending

अनिवार्य तथा निःशुल्क शिक्षामा सबैको साझा प्रतिबद्धता

दैलेख  : अनिवार्य तथा निःशुल्क शिक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले दैलेखमा बालविकास केन्द्रका शिक्षक, नेपाल शिक्षक महासंघ, विद्यालय व्यवस्थापन समिति तथा विद्यालयका प्रधानाध्यापकहरूलाई अभिमुखीकरण गरिएको छ।

शिक्षा विकास तथा समन्वय इकाई दैलेखको मंगलवार आयोजना गरेको अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि अभिखुीकरण कार्यक्रम बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले कुनै पनि बालबालिका अनिवार्य तथा निःशुल्क शिक्षाबाट वञ्चित हुन नहुने बताउनुभयो। उहाँले प्रत्येक बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन सबै सरोकारवाला निकायले साझा जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो।

प्रमुख शाहीले बालविकास केन्द्रका शिक्षकहरूको पारिश्रमिक अझै पनि न्यून रहेको उल्लेख गर्दै त्यसतर्फ स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो। गुणस्तरीय प्रारम्भिक बालशिक्षाका लागि बालविकास शिक्षकहरूको मनोबल उच्च हुनुपर्ने उहाँको भनाइ थियो।

शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका प्रमुख रमेशबहादुर मल्लले उक्त अभिमुखीकरण कार्यक्रम चैत महिनाको अन्तिम सातामै आयोजना गर्ने योजना रहे पनि विभिन्न कारणले ढिलो गरी सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले सबै सरोकारवालाको सक्रिय सहभागिता र सहकार्यबाट अनिवार्य तथा निःशुल्क शिक्षा प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष कमल शर्माले कार्यक्रमको समय सान्दर्भिकतामाथि टिप्पणी गर्दै विद्यालयमा भर्ना भएका तर नियमित रूपमा विद्यालय नआउने विद्यार्थीहरूको खोजी गरी विद्यालयमा टिकाइराख्ने अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले भर्नादर बढाउनु मात्र पर्याप्त नभई विद्यार्थीलाई नियमित विद्यालयमा उपस्थित गराउनु नै अनिवार्य तथा निःशुल्क शिक्षा सफल कार्यान्वयनको प्रमुख आधार भएको बताउनुभयो।

अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनका लागि स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक र समुदायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।