Loading... आजः सोमवार, असार १५, २०८३
Trending

कृषकलाई आधुनिक कृषि प्रविधि तथा सामग्री हस्तान्तरण

दैलेख :  व्यावसायिक तथा विषादीरहित तरकारी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नारायण नगरपालिकाले ५१ जना महिला कृषकलाई आधुनिक कृषि प्रविधि तथा सामग्री हस्तान्तरण गरेको छ। नारायण नगरपालिका कृषि विकास शाखा र नवप्रवर्तन साझेदारी परियोजनाको साझेदारीमा महिला कृषकलाई टनेल प्लास्टिक, थोपा सिँचाइ सामग्री, तरकारीका बीउबिजन, विभिन्न प्रकारका पासो ट्र्याप०, गार्डेन पाइप, हाते स्प्रेयर तथा मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरिएको हो।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत सञ्चालित नवप्रवर्तन साझेदारी कोष परियोजनाका लागि कर्णाली प्रदेशका सात स्थानीय तह छनोट भएका थिए। नारायण नगरपालिकाले व्यावसायिक उद्यम विकास कार्यक्रम सञ्चालनका लागि २०८२ चैत ९ गते सम्झौता भएको थियो।

परियोजना अन्तर्गत पालिकाभरिबाट १२५ जना महिला उद्यमी छनोट गरी ‘आफ्नो व्यवसाय सुरु तथा सुधार गरौँ’ शीर्षकमा पाँचदिने तालिम सञ्चालन गरिएको थियो। व्यावसायिक तरकारी खेती तथा पशुपन्छी पालनसम्बन्धी तालिम दिइएकोमा ५१ जना महिला तरकारी खेती तालिममा सहभागी भएका थिए। सोही तालिम प्राप्त महिला उद्यमीलाई आधुनिक कृषि सामग्री हस्तान्तरण गरिएको हो।  सहभागी ५१ महिलामध्ये दलित, जनजाति तथा अपाङ्गता भएका महिलाको समेत समावेशी सहभागिता रहेको छ। साथै, २५ जना कृषकलाई डिजिटल प्रविधिअन्तर्गत कृषि एपमा आबद्ध गराइने नगरपालिकाले जनाएको छ।

कृषि विकास शाखा प्रमुख मुकेश पनेरुले थोपा सिँचाइ, टनेल प्रविधि, हाइब्रिड बीउबिजन र जैविक पासोको प्रयोगले महिला कृषकलाई व्यावसायिक र आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले मल्चिङ र टनेल प्रविधिबाट बेमौसमी तरकारी उत्पादन वृद्धि हुने र रासायनिक विषादीको प्रयोग घटाई वातावरणमैत्री तथा सुरक्षित खेती प्रणालीको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो कृषि प्रविधिको सहि सदुपयोग गरी आय आर्जनमा बृद्धि गर्नुहुनेछ ।

नगर प्रमुख लोमन शर्माले वितरण गरिएका प्रविधिको प्रभावकारी उपयोग र नियमित अनुगमन गरिने बताउँदै यसले तरकारी उत्पादन वृद्धि, आयआर्जनमा सुधार तथा महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले परियोजनाको महत्व बुझेर व्यावसायिक कृषि उत्पादनमा सक्रिय हुन महिला कृषकलाई आग्रह गर्नुभयो ।

नगरपालिकाले सञ्चालन गरेको यस कार्यक्रमले महिलालाई परम्परागत निर्वाहमुखी खेतीबाट माथि उठाएर व्यावसायिक, आधुनिक तथा प्रविधिमैत्री कृषि उद्यमतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ।