Loading... आजः शनिबार, जेष्ठ २३, २०८३
Trending

रोकिएन सामुदायिक वनमा डढेलो


कमल शर्मा
दैलेख  :  सामुदायिक तथा राष्ट्रिय बनमा आगलागी हुन नदिनका लागी जिल्लाभर विभिन्न अभियान सचेतना मुलक कार्यक्रम संचालन हभएपनि बनमा आगलागी हुन रोकिएको छैन । डिभिजन बन कार्यालय दैलेखले दिएको जानकारी अनुसार दैलेखका १४ वटा सामुदायिक बन र ४० वटा राष्ट्रिय बनमा आगलागी हुँदा एक हजार १७० हेक्टर बन क्षेत्र प्रभावित भएको छ ।
डिभिजन वन कार्यालयका वन अधिकृत आशिका पौड्यालले डढेलो नियन्त्रणका लागि ११ स्थानीय तह र सामुदायिक वन उपभोक्ता समितिहरूलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको भएपनि बनमा डढेलो लाग्नेक्रम नरोकिएको बताउनुभयो । उहाँले छ वटै सब–डिभिजन वन कार्यालयमार्फत स्थानीय तह, बन उपभोक्ता समितिका पदाधिकारी र अन्य उपभोक्तालाई समेत सचेतिकरण कार्यक्रम संचालन गरेपनि बनमा आगलागी हुन कम नभएको बताउनुभयो । वन कार्यालयका अनुसार तीमध्ये ११ वटा सामुदायिक वनमा लागेको आगलागीलाई समयमै नियन्त्रणमा लिन सफल भएको छ ।
वन अधिकृत पौड्यालले डिभिजन वन कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई आगलागी हुन नदिन र आगलागी भएको अवस्थामा नियन्त्रण गर्ने उपायबारे प्रशिक्षण तथा अभिमुखीकरण समेत गरिएको जानकारी दिनुभयो।
उहाँले समुदायस्तरमा सचेतना अभिवृद्धिसँगै आगलागी नियन्त्रणका व्यावहारिक सीप विकासमा जोड दिइएको बताउनुभयो ।
डिभिजन बन कार्यालय दैलेखका कार्यालय प्रमुख अमर शाहले वन क्षेत्रमा हुने अधिकांश आगलागी मानवीय लापरबाहीका कारण हुने गरेको बताउनुभयो । उहाँले घाँसपात संकलन, खेतबारी सफा गर्ने क्रममा लगाइने आगो नियन्त्रण बाहिर जाँदा डढेलो फैलिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो लामो समय वर्षा नहुनु र सुख्खा मौसमले समेत आगलागीको जोखिम बढाएको छ ।
वन डढेलो न्यूनीकरणका लागि सचेतना अभियानसँगै निगरानी, शीघ्र नियन्त्रण र कानुनी कार्यान्वयनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको स्थानीयले बताएका छन । जिल्ला भित्र यात्रा गर्ने मानीसहरुले चुरोट खाने र त्यसलाई ननिभाउने गरेका कारण राष्ट्रिय बन र सामुदायिक बनमा आगलागी हुने गरेको बताएका छन ।