Loading... आजः शनिबार, जेष्ठ २३, २०८३
Trending

विश्व वातावरण दिवस मनाइयो

दैलेख  :  प्रकृतिबाट प्रेरित, जलवायुका लागि, हाम्रो भविष्यका लागिू भन्ने मूल नाराका साथ शुक्रबार दैलेखमा विश्व वातावरण दिवस २०२६ मनाइएको छ। डिभिजन वन कार्यालय दैलेखको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले वन, पानी र स्वच्छ हावा मानव जीवनका आधार भएको बताउँदै वन संरक्षण आजको मुख्य आवश्यकता रहेकोमा जोड दिएका छन्।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा विश्वभर मनाइने यो दिवस सन् १९७३ देखि मनाउन सुरु गरिएको हो। सोही अवसरमा डिभिजन वन कार्यालय दैलेखको आयोजनामा सदरमुकाम दैलेख बजारमा प्रभातफेरी (बजार परिक्रमा) र वृक्षारोपणसहित सचेतनामूलक कार्यक्रम गरिएको छ।

 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले वन विनाशले निम्त्याउने विपद्को जोखिमप्रति सचेत रहन आग्रह गरे। उनले विकास निर्माणका कार्य गर्दा वातावरणीय पक्षलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
प्रमुख जिल्ला अधिकारी आनन्द सारूले वातावरणको व्यापकता प्रष्ट पार्दै भने,  वातावरण भनेको केवल रुखबिरुवा मात्र होइन, हामीले फेर्ने सास, पिउने पानी, खाने खाद्यवस्तु, वनस्पति, जीवजन्तु र स्वच्छ हावाको समष्टिगत रूप हो। उनले विकासका नाममा जथाभावी डोजर चलाएर वन विनाश गर्ने कार्य तत्काल रोकिनुपर्ने बताउँदै यस्ता गतिविधिले मानव जीवन र सम्पूर्ण प्राणी जगतमा समान असर पार्ने हुँदा सबै बेलैमा सचेत हुनुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले वातावरण विनाशले निम्त्याउने विपद्को असरबाट बच्न सबै सरोकारवाला निकायहरूले वातावरणमैत्री नीति तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।