Loading... आजः शुक्रबार, जेष्ठ ८, २०८३
Trending

नाभिस्थान खोलाको पुल निर्माण प्रभावित


दैलेख  :   दैलेखको भैरवी गाउँपालिका–१ र दुल्लु नगरपालिका–१० जोड्ने नाभिस्थान खोलामा निर्माणाधीन पुल भुक्तानी प्रक्रियाको झन्झटका कारण प्रभावित बनेको छ । करिब ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको पुल अन्तिम चरणमा पुगेर रोकिँदा वर्षायामअघि सञ्चालनमा आउने स्थानीयवासीको अपेक्षा अधुरै हुने देखिएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा चार करोड ५६ लाख रुपैयाँ लागतमा निर्माण सुरु गरिएको पुलको जिम्मा पुष्पाञ्जली–बडिमालिका एमएम जेभीले पाएको थियो । २०८० चैत २५ गते पुल निर्माणको सम्झौता भएको थियो । संघीय सरकारले तीन करोड रुपैयाँभन्दा कम लागतका योजना स्थानीय तहमार्फत सञ्चालन गर्ने नीति लागू गरेपछि पुल निर्माणका लागी ४० लाख बजेट दुल्लु नगरपालिकामामा पठाएको थियो । संघीय संरचनाअनुसार उक्त बजेट स्थानीय तहमार्फत भुक्तानी गर्न नमिल्ने भएपछि उक्त बजेट पुन संघिय सरकारमा फिर्ता पठाएको थियो । निर्माण कम्पनीले काम गरेको भएपनि भुक्तानी प्रक्रियामा देखिएको जटिलताका कारण निर्माण कम्पनीले समयमै रकम नपाएको जनाएको छ ।
निर्माण कम्पनीका सञ्चालक टोपबहादुर महतराले सम्झौता अवधि अगावै पुल निर्माण सम्पन्न गर्ने तयारी भए पनि बजेट निकासा र भुक्तानी प्रक्रियाको ढिलाइले काम प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार पुलको १० प्रतिशत काम मात्रै बाँकी रहेको छ । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका प्राविधिक अनिल केसीले आर्थिक वर्ष २०८२÷०८३ मा आयोजना कार्यालयमार्फत ३० लाख रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गरिएको जानकारी दिनुभयो । उहाँले बाँकी रकम संघीय सरकारले दुल्लु नगरपालिकामा पठाएका कारण भुक्तानी प्रक्रिया जटिल बनेको बताउनुभयो ।
उहाँका अनुसार ठेक्का सम्झौताअनुसार ४० लाख रुपैयाँ अझै भुक्तानी हुन बाँकी छ । साथै, ठेक्का सम्झौताभन्दा बढी भएको कामको भेरिएसन स्वीकृतिको प्रक्रिया पनि अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले यही आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न हुने र बाँकी भुक्तानीसमेत हुने विश्वास व्यक्त गर्नुभयो ।
दुल्लु नगरपालिका–१० का वडाध्यक्ष दीपेन्द्र पुरीले पुल निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको भए पनि भुक्तानी प्रक्रियाको झन्झटले ठेकेदारलाई काम गर्न समस्या भएको बताउनुभयो । उहाँले वर्षातको समयमा नाभिस्थान खोलामा पुल नहुँदा स्थानीय नागरिकले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै निर्माण कम्पनीलाई छिट्टै काम सम्पन्न गर्न आग्रह गरिएको जानकारी दिनुभयो । पुल सञ्चालनमा आएपछि वर्षायाममा स्थानीयले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।