डेढ दशकमा ४७ को मृत्यु, १७५ घाइते


कमल शर्मा
दैलेख : विपद्जन्य घटनाका कारण महावु गाउँपालिकामा डेढ दशकको अवधिमा ४७ जनाको मृत्यु भएको छ भने १७५ जना घाइते भएका छन् । गाउँपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार २०६८ सालदेखि २०८३ जेठसम्म भएका विभिन्न विपद्जन्य घटना बाट आठ जना अझै बेपत्ता रहेका छन् ।
विपद्का कारण गाउँपालिकामा करिब १२ करोड ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै ८८ वटा पशुचौपायामा क्षति पुगेको तथा १२२ वटा पूर्वाधार तथा विकास योजनामा असर परेको जनाइएको छ । उक्त तथ्यांक महावु गाउँपालिका को जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजनाको आयोजनामा भएको स्थानीय योजना साझा अभियान, विपद् न्यूनीकरण तथा जलवायु उत्थानशील स्थानीय विपद् व्यवस्थापन योजना तर्जुमा गोष्ठिमा सार्वजनिक गरिएको हो । गाउँपालिकाका अनुसार विपद्जन्य घटनामध्ये सबैभन्दा बढी असर चट्याङबाट परेको छ । वर्षेनी चट्याङका कारण मानवीय तथा पशुचौपायामा क्षति हुने गरेको गाउँपालिकाले जनाएको छ ।
महावु गाउँपालिका–२ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता प्रकाशराज थापाले जनावरको आक्रमण, डुबेर मृत्यु, महामारी, आगलागी, वन डढेलो, बाढी, भारी वर्षा, पहिरो तथा सर्पदंशजस्ता घटनाबाट मानवीय तथा भौतिक क्षति भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कमजोर पूर्वाधार, जोखिमयुक्त बस्ती तथा विपद् पूर्वतयारीको अभावका कारण क्षति बढ्दै गएको छ । विशेषगरी वर्षायाममा पहिरो, बाढी र चट्याङको जोखिम उच्च हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो जलबायु परिवर्तन स्थानीय अनुकुलन परियोजना मार्फत गाउँपालिकाका ६ वटै वडामा विपदजन्य प्रकोप बाट पर्न सक्ने जोखिमका विषयमा तथ्याङक संकलन गरी सोही अनुसारको कार्यक्रम संचालन गर्न लागिएको समेत जानकारी दिनुभयो ।
गाउँपालिकाले पछिल्ला वर्षहरूमा विपद् जोखिम न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम, उद्धार सामग्री व्यवस्थापन तथा जोखिमयुक्त बस्तीको पहिचानको काम थालेको जनाएको छ । यद्यपि पर्याप्त स्रोतसाधन अभावका कारण प्रभावकारी पूर्वतयारी तथा व्यवस्थापनमा चुनौती रहेको गाउँपालिकाको भनाइ छ । उहाँका अनुसार २०५३ सालदेखी घटना विवरण उल्लेख गरिएको भएपछि २०६८ साल बाट यता मात्र घटनाहरु सरकारी तथ्याङकमा आएका छन । स्थानीयवासीले विपद् प्रभावित क्षेत्रमा तटबन्ध, सुरक्षित बस्ती व्यवस्थापन, पूर्वसूचना प्रणाली तथा सडक र सञ्चार पूर्वाधार विस्तार गर्नुपर्ने माग गरेका छन् ।

