Loading... आजः बिहिबार, जेष्ठ ७, २०८३
Trending

थाकेको शरीर,नथाकेको सपना

कमल शर्मा
दैलेख  :  बिहानको घाम डाँडामाथि उक्लिएको हुँदैन । धुलाम्मे सडकमा एउटा शरीर बिस्तारै अगाडि बढिरहेको देखिन्छ । पाइला होइन, दुई हातको सहारामा शरीर घिसार्दै विद्यालयतर्फ अघि बढिरहेका हुन्छन् ५० वर्षीय हस्तबहादुर कठायत । जन्मजात शारीरिक अपाङ्गता भएका उहाँलाई घरदेखि विद्यालयसम्मको करिब एक किलोमिटर दूरी पार गर्न दुई घण्टा लाग्छ । वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने बाटोले उहाँको शरीरलाई थकाइ दिन्छ, तर उहाँ आफ्नो जिम्मेवारीलाई पुरा गर्न थाकेको महशुस नै गर्नुहुन्न ।
उमेर ढल्कँदै जाँदा शरीर कमजोर बन्दै गएको उहाँले बताउनुभयो । “हातले टेकेर बिहान दुई घण्टा र बेलुका दुई घण्टा हिँड्दा हात नै सुन्निएका हुन्छन्,” उहाँले बिस्तारै भन्नुभयो, “उमेर विस्तारै ढल्कँदै जाँदा शरीर पनि कमजोर हुने रहेछ ।” विद्यालयदेखि उहाँको घरसम्म सडक पुगिसकेको छ । तर त्यो सडकमा उहाँका लागि गुड्ने साधन छैन । आर्थिक अभावका कारण चारपाङ्ग्रे स्कुटर किन्ने अवस्था छैन । “आधा सहयोग कसैले गरिदिएको भए म आफैं पनि थपेर स्कुटर किन्थेँ,” उहाँको आवाजमा आशा मिसिएको थियो । “हामीलाई कसले सहयोग गर्ला र ?”
शारीरिक कठिनाइबीच पनि उहाँले कक्षा १२ सम्म अध्ययन गर्नुभयो । गाउँमा विद्यालय नहुँदा धेरै बालबालिका टाढा जान नसकेर पढाइबाट वञ्चित भइरहेका थिए । त्यो दृश्यले उहाँलाई भित्रैदेखि पोल्थ्यो । त्यसपछि उहाँले गाउँमा विद्यालय स्थापना गर्न अभियान सुरु गर्नुभयो । गाउँका बालबालिकालाई जम्मा गरेर आफ्नै पहलमा पढाउन थाल्नुभयो । न तलब थियो, न सरकारी सहयोग । तर शिक्षाप्रतिको भरोसा थियो । लगातार दुई वर्षसम्म उहाँले ८२ जना बालबालिकालाई निःशुल्क पढाउनुभयो । एक्लै सबै विद्यार्थी सम्हालेर पढाउने उहाँको प्रयास गाउँका लागि शिक्षाको पहिलो उज्यालो बन्यो ।बालबालिकालाई पढाउँदा मलाई आत्मसन्तुष्टि मिल्थ्यो उहाँ सम्झिनुहुन्छ ।
उहाँको योगदानपछि शिक्षा विकास तथा समन्वय इकाइले उहाँलाई कार्यालय सहयोगी पदमा नियुक्ति दियो । अहिले उहाँ जनकल्याण प्राथामिक विद्यालयमा कार्यलय सहयोगीका रुपमा कार्यरत हुनुहुन्छ । उहाँकै संघर्ष र पहलबाट स्थापना भएको विद्यालयमा अहिले कक्षा ४ सम्म पढाइ सञ्चालन भइरहेको छ । विद्यालयमा उहाँको जिम्मेवारी केवल कार्यालय सहयोगीको मात्र छैन । उहाँ बालबालिकाका लागि दैनिक खाजा–नास्ता पकाउने कामसमेत गर्नुहुन्छ । शारीरिक कठिनाइका बाबजुद सकेसम्म सबै काम आफैं गर्ने प्रयास गर्नुहुन्छ । “नजिक भएको काम आफैं गर्छु,” उहाँले भन्नुभयो, “पानी ल्याउन सक्दिनँ, विद्यार्थीमार्फत पानी बोकाउनुपर्ने बाध्यता छ ।”
हस्तबहादुर कठायतको जीवनमा पीडा थपिँदै गयो । १२ वर्षअघि बुवाको निधन भयो । आमाले पनि संसार छाडेको आठवर्ष भयो । आमा बुवाको मृत्युभएपछि जीवन झन समस्यामा प¥यो । उहाँले भन्नुभयो आमाको साथ हुँदा जीवन केही सहज लाग्थ्यो । अहिले भाइ–बुहारी अलग्गै बस्छन् । धेरै जसो अंकलको छोराको घरमा बस्छु । पानी परेन भने घरपनि जान्छु । उमेर हुँदा आफू शारीरिक रूपमा कमजोर छु भनेर विवाहको कुरा गरिनँ,” उहाँ भावुक हुँदै भन्नुहुन्छ, “अहिले एक्लै हुँदा सहारा चाहिने रहेछ भन्ने थाहा भयो हस्तबहादुरले भन्नुभयो ।
दिनभर विद्यालयको काम सकेर साँझ घर फर्किंदा उहाँका हात फेरि सुन्निएका हुन्छन् । शरीर थाकेको हुन्छ । तर भोलिपल्ट फेरि उही बाटो समात्नुहुन्छ । किनकि उहाँका लागि विद्यालय केवल जागिर गर्ने ठाउँमात्र नभई जीवनको उद्देश्य हो ।
विद्यालयका प्रधानाध्यापक महेन्द्रकुमार शर्माले विद्यालयका कार्यालय सहयोगी हस्तबहादुर कठायतको अभियानले गाउँमा विद्यालय स्थापना हुन सफल भएको बताउनुभयो । उहाँले तत्कालीन समयमा बालबालिकालाई जम्मा गरेर नपढाएको भए विद्यालयनै खुल्ने थिएन । उहाँका अनुसार विद्यालयमा बालविकासदेखि कक्षा ३ सम्म २३ जना विद्यार्थी अध्ययनरत छन् । अघिल्लो वर्ष कक्षा ४ मा १० जना विद्यार्थी रहेका थिए ।