Loading... आजः बिहिबार, जेष्ठ ७, २०८३
Trending

प्रार्थना विश्वशान्तीको,भरोसा मुठीदानको


कमल शर्मा
दैलेख :  दैलेखको दुल्लु नगरपालिका–१० नाभिस्थानस्थित पञ्चकोशी माध्यमिक वेदविद्याआश्रम विद्यालयमा प्रत्येक बिहान विश्वशान्तिका लागि वेदमन्त्र गुञ्जिन्छ । आश्रममा अध्ययनरत बटुकहरू एकै स्वरमा मन्त्र उच्चारण गर्दै रुद्राभिषेकमा सहभागी हुन्छन् । तर विश्वशान्तिको कामना गर्ने यही गुरुकुल अहिले मुठीदान, अन्नदान र दाताको सहयोगको भरमा सञ्चालन भइरहेको छ ।
कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका ६५ जना विद्यार्थी अध्ययनरत उक्त आवासीय गुरुकुलमा दैनिक भोजन व्यवस्थापनदेखि विद्यालय सञ्चालनसम्म समुदायको सहयोग नै मुख्य आधार बनेको छ ।
२०७२ सालमै सम्बन्धन प्राप्त गरेको पञ्चकोशी वेदविद्याआश्रम माध्यमिक विद्यालय अझै सरकारी दरबन्दीविहीन अवस्थामा सञ्चालन हुँदै आएको छ । गुरुकुलमा संस्कृत शिक्षा, वेद अध्ययन तथा धार्मिक अभ्यास नियमित भइरहेका छन ्। विद्यालयका प्रधानाध्यापक खगेन्द्र बजगाई कर्णालीलाई केवल भूगोल नभई सभ्यता मान्नुहुन्छ । उहाँका अनुसार कर्णाली भाषा, कला, संस्कार र बाङ्मयको उद्गमस्थल हो । यही पहिचान जोगाउने उद्देश्यले गुरुकुल स्थापना गरिएको उहाँ बताउनुहुन्छ। “यो केवल विद्यालय होइन, संस्कार र सभ्यता जोगाउने थलो हो,” बजगाईले भन्नुभयो, “तर राज्यबाट अपेक्षित सहयोग अझै पाउन सकेका छैनौँ ।”
विद्यालयमा हाल ६ जना शिक्षक तथा एक जना कार्यालय सहयोगी एवं भोजन पकाउने गुरु कार्यरत रहनुभएको छ । तर नेपाल सरकारले तोकेको तहअनुसार शिक्षक तथा कर्मचारीको तलब व्यवस्थापन हुन सकेको छैन । नियमित पारिश्रमिक नहुँदा पनि शिक्षकहरू वेद शिक्षा जोगाउने जिम्मेवारीबाट पछि नहटेको प्रधानाध्यापक बजगाईको भनाइ छ।
गुरुकुलको भान्सामा हरेक दिन ६५ जना विद्यार्थीका लागि बिहान–बेलुकाको खाना तयार हुन्छ । तर त्यो सहज छैन। कहिले अभिभावकले पठाएको अन्न, कहिले स्थानीयले दिएको मुठीदान, त कहिले दाताको सहयोगले चुल्हो बलिरहेको हुन्छ ।
“गुरुकुल सञ्चालन गर्नु भन्दा पनि यहाँका विद्यार्थीलाई बिहान–बेलुका भोजन व्यवस्थापन गर्नु ठूलो चुनौती बनेको छ,” प्रधानाध्यापक बजगाईले भन्नुभयो, “तर समुदायको साथले विद्यालय टिकिरहेको छ ।” विद्यालयमा अध्ययनरत बटुकहरूले नेपाल महर्षि वैदिक फाउण्डेशनको समन्वयमा दैनिक रूपमा विश्वशान्तिका लागि रुद्राभिषेक गर्दै आएका छन्। आफ्नै जीवन अभावबीच बितिरहेको भए पनि उनीहरूको प्रार्थना भने मानवकल्याणकै लागि हुने गरेको विद्यालयले जनाएको छ ।
दुल्लु नगरपालिका–१० का वडाध्यक्ष दिपेन्द्र पुरीले कर्णाली प्रदेशकै एक मात्र वेदविद्याआश्रम विद्यालय भए पनि राज्यले उचित व्यवस्थापन गर्न नसकेको बताउनुभयो ।“विद्यालयमा शिक्षक दरबन्दी छैन,” उहाँले भन्नुभयो, “दरबन्दी नहुँदा विद्यालय सञ्चालन गर्न कठिन भइरहेको छ। यसको व्यवस्थापनका लागि संघीय सरकारले पहल गर्नुपर्छ।”
पञ्चकोशी क्षेत्र विकास संस्थाका अध्यक्ष एवं नाभिस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले दुल्लु नगरपालिका–८ वडालम्जीमा रहेको विद्यालयलाई २०७३ सालमा नाभिस्थान मन्दिर परिसरमा सारिएको जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरकै नाममा रहेको जग्गामा विद्यालय भवन निर्माण गरी सञ्चालन भइरहेको छ ।
अछामको तुर्माखाँद गाउँपालिकाका बटुक विद्यार्थी जनक न्यौपाने दुई वर्षदेखि गुरुकुलमा अध्ययनरत छन् । कक्षा ७ देखि अध्ययन गर्दै आएका उहाँले बस्ने व्यवस्था भए पनि खानाको व्यवस्थापनमा कठिनाइ हुने गरेको बताउनुभयो । “यहाँ पढाइ राम्रो छ, संस्कार सिकाइन्छ,” उहाँले भन्नुभयो “तर कहिलेकाहीँ खानाको समस्या हुँदा गाह्रो हुन्छ ।”
तीन प्रदेशका विद्यार्थी अध्ययनरत यो आवासीय गुरुकुल कर्णाली प्रदेशकै महत्वपूर्ण वेदविद्यालयका रूपमा चिनिन्छ। तर सम्बन्धन पाएर पनि दरबन्दी नपाएको यो विद्यालय अझै समुदायको भरोसामा चलिरहेको छ । वेद, संस्कार र सभ्यता जोगाउने जिम्मेवारी बोकेको यो गुरुकुलमा हरेक बिहान विश्वशान्तिको प्रार्थना त गुञ्जिन्छ, तर त्यससँगै अर्को मौन प्रार्थना पनि सुनिन्छ— गुरुकुल जोगियोस्, संस्कार बचिरहोस् । नाभिस्थान मन्दिरमा योगी नरहरिनाथले २०४६ सालमा एकमहिने कोटीहोम सञ्चालन गरेका थिए। पञ्चकोशी वेदविद्याआश्रम स्थापना भएपछि त्यसयता यहाँ दोस्रो ठूलो धार्मिक अनुष्ठानसमेत आयोजना गरिएको स्थानीय बताउँछन् ।