Loading... आजः शनिबार, जेष्ठ २, २०८३
Trending

तेस्रो पटक म्याद थप्दा पनि अस्पताल भवन अधुरै


कमल शर्मा
दैलेख  :  निर्धारित समयभन्दा दुई वर्ष बितिसक्दा पनि जिल्ला अस्पताल दैलेखको नयाँ भवन निर्माण सम्पन्न हुन सकेको छैन । पटक–पटक म्याद थप्दा पनि निर्माण कार्यले गति लिन नसकेपछि अस्पताल भवन अझै अधुरै बनेको हो । २०७८ जेठ १० गतेदेखि निर्माण सुरु भई २०८१ जेठ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको ५० शय्याको सुविधा सम्पन्न अस्पताल भवनको हालसम्म भौतिक प्रगति ६८ प्रतिशत मात्रै पुगेको छ । १८ करोड २३ लाख ९९ हजार ३८१ रुपैयाँ लागतमा निर्माणको जिम्मा पाएको श्री प्रेरा÷क्याराभान÷सुपर स्टार जेभीले समयमै काम सम्पन्न गर्न नसकेपछि दोस्रो पटकसम्म म्याद थप गरिएको थियो । अहिले तेस्रो पटक म्याद थपको समय सिमा २०८३ भदौ मसान्त सम्म तोकिएको छ । तेस्रो पटक थपीएको म्यादमा समेत अस्पताल भवन निर्माण हुने कुनै आधार नदेखिएपछि स्वास्थ्य सेवा कार्यालयले निर्माण कम्पनीलाई ताकेता गरिरहेको जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका ब्यवस्थापक डा मनोज विश्वर्कमाले दोस्रो पटक म्याद थप गरिएको २०८२ फागनु मसान्त सम्म पनि ठेकेदारले काम नगरेपछि जिल्ला अस्पताल दैलेखले जिल्लाका नागरिक समाज,पत्रकार,कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिव,निर्माण ब्यबसायी राखेर तत्कालका लागी भवन निर्माणको म्याद तेस्रो पटक थप गरी २०८३ भदौ मसान्त सम्म बुझाउने गरी म्यादथप गरिएको बताउनुभयो । उहाँले निर्माण कम्पनीले काम निरन्तर गरिरहेको भएपनि कामले गति लिन नसकेका कारण तेस्रो पटक म्याद थपीएको समयमा समेत भवन निर्माण सम्पन्न हुने आधारहरु नदेखिएको बताउनुभयो ।
उहाँले निर्माण कम्पनीलाई पटक–पटक काम तीव्र बनाउन आग्रह गरे पनि सुनुवाइ नभएको बताउनुभयो । उहाँले भन्नुभयो निर्माण ब्यबसायी संग माघ महिना देखी यता कुरानै हुन नसकेको बताउनुभयो । तेस्रो पटक म्याद थप गरेको समयमा पनि अस्पताल निर्माण हुन सकेन भने कार्यालय अन्य विकल्प खोज्न बाध्य हुनेछ । निर्माणाधीन भवन अलपत्र पर्दा अस्पतालमा बेड अभाव भएको र बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको डा ः विश्वर्कमाको भनाइछ ।
श्री प्रेरा÷क्याराभान÷सुपर स्टार जेभीकाका प्रोप्राइटर तारा शाहीले कोरोना महामारी, रुख कटान, आर्थिक मन्दी तथा दक्ष जनशक्ति अभावका कारण काम प्रभावित भएको भएपनि पछिल्लो समय काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो पुस मसान्तमा उठाइएको रनिङ बिल एक करोड १७ लाख भुक्तानी भएको छैन , मुल्य दिनहु बढ्दोक्रममा रहेकाले त्यसका लागी प्रदेश सरकारले नै सहजीकरण गरिदिनुपर्ने हुन्छ । उहाँले भन्नुभयो कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले अर्थमन्त्रालय संग बजेट माग गरिसकेको बताएपनि कहिले सम्म भुक्तानी पाउने हो जानकारी भएन । १५ शय्याको जिल्ला अस्पतालले हाल ५१ शय्यासम्म सेवा दिँदै आएको छ । नयाँ भवन निर्माण ढिलो हुँदा २०४२ सालमा बनेको पुरानो भवनबाटै कोचाकोच गरी बिरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ । नागरिक सामाजका अगुवा यामराज थापाले स्वास्थ्य जस्तो सम्बेदनशिल कुरामा निर्माण ब्यबसायीको लापारबाही देखिएको बताउँदै तत्काल भवन निर्माण गरी जनतालाई संबिधानले प्रदान गरिएको निशुल्क पाउनु पर्ने स्वास्थ्यको हकलाई सुनिश्ति गरिनुपर्ने बताउनुभयो ।