Loading... आजः बिहिबार, बैशाख ३१, २०८३
Trending

एसईईमा कर्णालीकै कमजोर दैलेख


दैलेख : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा दैलेख कर्णाली प्रदेशकै सबैभन्दा कमजोर जिल्लाका रूपमा देखिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय वीरेन्द्रनगर, सुर्खेतले सार्वजनिक गरेको तीन वर्षको जिल्लागत नतिजाले दैलेखको शैक्षिक अवस्था अझै चुनौतीपूर्ण रहेको देखाएको हो । तथ्यांकअनुसार दैलेखको एसईई उत्तीर्ण प्रतिशत २०८० मा १६ दशमलव ८५, २०८१ मा २२ दशमलव ८९ र २०८२ मा ३१ दशमलव ८२ पुगेको छ । अघिल्लो वर्षको तुलनामा सुधार देखिए पनि कर्णालीका १० जिल्लामध्ये दैलेख सबैभन्दा कमजोर नतिजा ल्याउने जिल्लामा परेको छ ।
कर्णाली प्रदेशको समग्र उत्तीर्ण प्रतिशत २०८० मा ४१ दशमलव ५३, २०८१ मा ५६ दशमलव ७८ र २०८२ मा ५९ दशमलव ०५ पुगेको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

जिल्लागत विवरणअनुसार २०८२ मा मुगुको उत्तीर्ण प्रतिशत ७५ दशमलव ९०, रुकुम पश्चिमको ७९ दशमलव ३४, कालिकोटको ७३ दशमलव १३, सल्यानको ६८ दशमलव २२ र जुम्लाको ६८ दशमलव १७ प्रतिशत रहेको छ । सुर्खेतले ५८ दशमलव १९, हुम्लाले ४९ दशमलव ३७, डोल्पाले ४६ दशमलव ६९ तथा जाजरकोटले ४५ दशमलव ९१ प्रतिशत नतिजा हासिल गरेका छन् ।

दैलेख जिल्लाभर एसईईमा सहभागी चार हजार ३०६ विद्यार्थिमध्ये एक हजार ३७० जना मात्रै उत्तीर्ण भएका छन् भने दुई हजार ९३६ जना अनुत्तीर्ण भएका छन् । डुङ्गेश्वर गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हनेटा, नौमुले गाउँपालिकाको कालिका माध्यमिक विद्यालय र भैरवी गाउँपालिकाको डोक्रा माध्यमिक विद्यालयका सहभागी विद्यार्थीमध्ये एक जना पनि उत्तीर्ण हुन सकेनन् ।

शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका प्राविधिक सहायक रतनबहादुर बिष्टले अघिल्लो वर्षको तुलनामा सुधार भए पनि गुणस्तरीय शिक्षामा अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । “२०८० मा जिल्लाको उत्तीर्ण प्रतिशत १६ मात्रै थियो, अहिले ३१ प्रतिशत पुगेको छ,” उहाँले भन्नुभयो, “तर विषयगत शिक्षक अभाव, पहुँचका भरमा विद्यालय सञ्चालन अनुमति, कमजोर शैक्षिक वातावरण र नियमित अध्ययनको कमीले नतिजामा असर परेको छ ।”उहाँका अनुसार विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षक अभाव अझै धेरै विद्यालयमा कायम छ । कतिपय विद्यालयमा विद्यार्थी भर्ना हुने तर नियमित अध्ययन नगर्ने प्रवृत्तिले पनि नतिजा कमजोर बनेको विद्यालयका प्रधानाध्यापकहरू बताउँछन् ।

यसबीच केही विद्यालयले भने उत्साहजनक नतिजा हासिल गरेका छन् । त्रिभुवन माध्यमिक विद्यालयका दुई जना विद्याथीले ४ जीपीए प्राप्त गरेका छन् । सामुदायिक विद्यालयतर्फ जनता माध्यमिक विद्यालय कोटथाप्लाले शतप्रतिशत नतिजा ल्याएको छ । संस्थागत विद्यालयतर्फ फूलबारी विद्या मन्दिरका ४७, दैलेख मोडल स्कुलका १८ र सनराइज बोर्डिङ स्कुलका ६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक निरक तारामीले जिल्लामा सामुदायिक विद्यालयबाटै उत्कृष्ट नतिजा आउने सम्भावना रहे पनि त्यसका लागि नियमित अनुगमन, विषयगत शिक्षक व्यवस्थापन र सिकाइमैत्री वातावरण आवश्यक रहेको बताउनुभयो ।उहाँले शिक्षक व्यवस्थापन, नियमित अनुगमन, अभिभावकको सक्रियता र स्थानीय तहको प्रभावकारी लगानी गरेको खण्डमा सामुदायिक विद्यालयलेनै उत्कृष्ट नतिजा ल्याउने दावी गर्नुभयो ।