उपभोक्ता ठगी रोक्न प्रशासनको बजारमा कडाइ


दैलेख : उपभोक्ता ठगी, कालोबजारी तथा म्याद गुज्रेका वस्तुको बिक्री वितरण रोक्न जिल्ला प्रशासन कार्यालय दैलेखले बजार अनुगमनलाई तीव्र बनाएको छ । दैलेख जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीको नेतृत्वमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, स्थानीय तह, प्रहरी तथा सरोकारवाला निकायको संयुक्त टोलीले सदरमुकामसहित विभिन्न बजार क्षेत्रमा अनुगमनलाई निरन्तरता दिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले अनुगमनका क्रममा मूल्यसूची नराखेका, म्याद गुज्रेका सामग्री बिक्रीका लागि राखेका तथा व्यवसाय दर्ता नगरी सञ्चालन भएका पसलहरूलाई सचेत गराइएको बताउनुभयो । उहाँले केही पसलबाट म्याद नाघेका खाद्य सामग्रीसमेत फेला परेपछि नियन्त्रणमा लिएर नष्ट गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो उपभोक्ताको स्वास्थ्य र अधिकारसँग प्रत्यक्ष जोडिएका विषयमा लापरबाही नगर्न व्यवसायीलाई निर्देशन दिएका छौँ बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, बढी मूल्य लिने तथा गुणस्तरहीन सामग्री बिक्री गर्ने गरेको पाइएमा कानुन बमोजीम कार्वाही गरिनेछ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका नायम सुब्दा प्रेम बहादुर बष्टिले बजार अनुगमन नभएको जस्ता गुनासाहरु उपभोक्ताबाट आएपछि अनुगमनलाई कडाइ गरिएको बताउनुभयो । उहाँले “उपभोक्तालाई ठगीबाट जोगाउन र बजारलाई व्यवस्थित बनाउन नियमित अनुगमन गरिरहेका छौँ,” सबै पालिकाका मुकाम र राजमार्गमा रहेको होटलहरुमा समेत छड्के अनुगमन गर्नेछौँ नासु बिष्टले भन्नुभयो । अनुगमन टोलीले व्यवसायीलाई अनिवार्य रूपमा मूल्यसूची राख्न, खरिदबिक्रीको बिल प्रयोग गर्न तथा म्याद गुज्रेका वस्तु बिक्री नगर्न निर्देशन दिएको छ ।अनुगमन टोलीलले खाद्य,फेन्सी,मेडिकल,होटल तथा रेष्टुरेन्टमा अनुगमन गरिएको जानकारी दिएको छ ।
फोटो क्याप्सन ः बजार अनुगमन गर्दै जिल्ला प्रशासन र सरोकारवाल निकायको टोली । तस्बिर कमल शर्मा
