पराजित भए पनि गाउँ फर्किए उम्मेदवार


दैलेख : निर्वाचनमा हार–जितको परिणाम सार्वजनिक भइसकेपछि धेरै उम्मेदवारहरू मौन बस्ने गर्छन् । तर दैलेखमा भने फरक दृश्य देखिएको छ । पराजित उम्मेदवारहरू मतदाताप्रति आभार व्यक्त गर्न फेरि गाउँ–गाउँ फर्किएका छन् । नेकपा एमालेका उम्मेदवार रबिन्द्रराज शर्माले चुनावमा पराजित भए पनि अहिले मतदाताको घरदैलोमै पुगेर आफू र आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्ने मतदातालाई धन्यवाद अभियान चलाउनुभएको छ । दैलेख निर्वाचन क्षेत्र नम्बर १ का छटै पालिका र ४६ वटै वडामा पुग्ने लक्ष्यसहित उनले अभियान थालेका हुन् । निर्वाचनको नतिजा आफ्नो पक्षमा आएन, तर जनतासँगको सम्बन्ध टुट्नु हुँदैन शर्मा भन्नुहुन्छ “हामीले पाएको मत हाम्रो जिम्मेवारी हो ।”
उहाँले चुनावी अभियानमा साथ दिने कार्यकर्ता र मतदातालाई निराश नहुन आग्रह गर्दै आगामी दिनमा अझ सशक्त रूपमा जनताको बिचमा रहने प्रतिबद्धता जनाउनुभएको छ । गाउँ–गाउँमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उहाँले चुनावको क्रममा पाएको साथप्रति कृतज्ञता व्यक्त गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो गुराँस गाउँपालिका ८ वडा,डुगेश्वर गाउँपालिका ६ वडा र भगवतीमाई गाउँपालिका ७ वडा सकेर नारायण नगरपालिकाका वडामा धन्यवाद कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।
त्यस्तै, (रास्वपा) का उम्मेदवार नन्द किशोर बस्नेत पराजित भए पनि गाउँ फर्किएर धन्यवाद अभियानमा जुट्नुभएको छ । “जनताले परिवर्तन चाहेको भए पनि हामी जित्न सकेनौँ,” बस्नेत भन्नुहुन्छ “तर हामी जनताबाट टाढा हुँदैनौँ ।” उहाँका अनुसार गाउँमा अहिले पनि “धारा छ, पानी छैन । पोल छ, बिजुली छैन । विद्यालय छन्, शिक्षक छैनन् । सडक बनेका छन्, तर नाला छैन।”त्यसको समस्या समाधान गर्न निर्वाचनमा पराजित भए पनि त्यसमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै आएको र सहजीकरण समेत गरिरहेको बताउनुभयो । “हार–जित चुनावको प्रक्रिया हो, तर जनताको भरोसा जोगाउनु सबैभन्दा ठुलो जिम्मेवारी हो,” उहाँले थप्नुभयो ।
निर्वाचनमा विजयी भएकी नेपाली काँग्रेसकी नेतृ वासना थापा पनि मतदातालाई धन्यवाद दिन गाउँ–गाउँ पुगिरहनुभएको छ । उहाँका अनुसार निर्वाचन क्षेत्रका अधिकांश पालिकामा धन्यवाद कार्यक्रम सम्पन्न भइसकेको छ भने बाँकी रहेका गुराँस गाउँपालिका र डुगेश्वर गाउँपालिकामा पनि चाँडै कार्यक्रम गरिनेछ । जनताको मतले जिताएको हो, त्यसैले धन्यवाद दिनु मेरो कर्तव्य हो,” थापाले भन्नुभयो । निर्वाचनको बेला आफूले कुनै योजना नबाँडेको बताउँदै निर्वाचनमा विजयी भएपछि गाउँका जनताका समस्या सुनेर नीति बनाउनु पर्ने भए नीति बनाउन सहयोग गर्ने र संसद्मा कुरा राख्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

