एमाले–माओवादीले दोहो¥याए पुरानै उम्मेदवार


दैलेख : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दैलेखका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएका छन् । राजनितिमा युवाहरुको आर्कषण बढाउने नारा दिएका दुबै दलको उम्मेदवार छनोटले नयाँ नेतृत्व, पुस्तान्तरणको नारालाई ओझेल पार्दै पुरानै अनुहारलाई उम्मेदवार बनाएका छन ।
एमालेले दैलेख निर्वाचन क्षेत्र नं. १ २०७४को प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई २०७९ सालको निर्वाचनमा पराजित कर्णाली प्रदेश उपसचिव रविन्द्रराज शर्मालाई पुनः उम्मेदवार बनाएको छ। यस्तै, निर्वाचन क्षेत्र नं. २ मा संविधान सभा सदस्य भइसकेका तथा २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित लक्ष्मीप्रसाद पोखरेललाई फेरि टिकट दिएको छ । दुवै उम्मेदवार अघिल्ला निर्वाचनमा पराजित भइसकेका हुन् ।
उता, माओवादी केन्द्रले पनि नयाँ अनुहारभन्दा पुरानै राजनीतिक यात्रामा रहेका नेताहरूलाई प्राथमिकता दिएको छ । निर्वाचन क्षेत्र नं. १ मा निर्वतमान प्रतिनिधि सभा सदस्य अम्मरबहादुर थापा र निर्वाचन क्षेत्र नं. २ मा योगेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाइएको छ । थापा पछिल्लो दुई दशकदेखि पटक–पटक फरक दल र गठबन्धनबाट निर्वाचन लड्दै आएका नेता हुन् । २०६४ साल भएको संबिधान सभाको पहिलो निर्वाचनमा नेकपा एमाले बाट उम्मेदवार भई पराजित हुनुभएका थापा २०७० को दोस्रो संबिधान सभाको निर्वाचनमा निर्वाचित हुनुभएको थियो । २०७४ नेकाप एमाले बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका थापाले फलोरक्रस गरी छ महिने मन्त्री बन्नुभएको थियो । २०७९ सालमा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार भई कांग्रेस–नेतृत्वको गठबन्धनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो । यस्तै, योगेन्द्रबहादुर शाहीको राजनीतिक यात्रा पनि दल परिवर्तन र नियुक्तिमुखी राजनीतिसँग जोडिएको छ । एमालेको विद्यार्थी राजनीतिबाट उदाएका शाही टिकट नपाएपछि योजना आयोगको सदस्य बन्नुभयो । एमालेले टिकट नदिएपछि माओवादी केन्द्र प्रवेश गर्नुभएका शाही २०७९ को प्रदेश सभा निर्वाचनमा पराजित हुनुभएको थियो । तत्कालीन माओबादी केन्द्रले शाहीलाई कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो । उनै शाहीलाई अहिले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाइएको छ ।
दलहरूले अनुभव, संगठन र चुनाव जित्ने सम्भावनाको तर्क गरे पनि निरन्तर दोहोरिएका अनुहारले स्थानीय मतदातामा निराशा बढाएको देखिन्छ । “परिवर्तनको भाषण धेरै सुनियो, तर उम्मेदवार उही पुराना,” भन्ने जनगुनासो बढ्दो छ । अब मतदाताले पुरानै अनुहारलाई पुनः विश्वास गर्ने कि नयाँ राजनीतिक विकल्प खोज्ने भन्ने निर्णायक परीक्षा आगामी निर्वाचनले लिनेछ ।

